Sagun Khabar
कांग्रेस बैतडीको पञ्चेश्वर–पुर्चौंडी दैलो अभियान सम्पन्न 

बैतडी –नेपाली कांग्रेस बैतडीले सञ्चालन गरेको पञ्चेश्वर–पुर्चौंडी दैलो अभियान सम्पन्न गरेको छ । जेठ पहिलो साता पञ्चेश्वरको सैलोडाबाट शुरु गरिएको अभियान विपी जयन्तीको अवसर पारेर सोमबार समापन गरिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले जानकारी दिए । 

पञ्चेश्वरबाट शुरु गरिएको अभियान अन्तर्गत जिल्लाका १० ओटै स्थानीय तह र ८४ ओटै वडामा कार्यक्रम गरिएको उनले बताए । पञ्चेश्वर–पुर्चौडी दैलो अभियान अन्तर्गत नेपाली कांग्रेसको संगठन विस्तार, कांग्रेसको नीति र स्थानीय सरकारहरुले गरिरहेका कामहरुको बारेमा छलफल र समीक्षा गरिएको सचिव चन्दले बताए । 

Atrya hospital

१ सय ११ औं विपी जयन्तीको अवसर पारेर पाटनमा दैलो अभियान सम्पन्न गरिएको सचिव चन्दले बताए । १ सय २० दिन सम्म सञ्चालन गरिएको अभियानले नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन, नेता–कार्यकर्ताहरुलाई सक्रिय बनाउन र पार्टीलाई चलायमान बनाउन सहयोग पुगेको उनले बताए । 

नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति खगेन्द्रसिंह धामीको अध्यक्षतामा सम्पन्न भएको समीक्षा कार्यक्रममा १० ओटै पालिकाका पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा दैलो अभियानको समीक्षा गर्नुका साथै आगामी दिन अन्य अभियानलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा छलफल भएको सचिव चन्दले बताए । 

कांग्रेस बैतडीले पञ्चेश्वर–पुर्चौंडी दैलो अभियान सम्पन्न गरेपनि प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको अर्को  अभियानलाई सफल बनाउने बिषयमा समेत छलफल गरिएको छ । कांग्रेसको केन्द्रीय समितिले आगामी असोज १ गतेदेखि पुस १० गतेसम्म देशभरी बिशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

यसैबीच बैतडीमा एकदिने अन्तरक्रियाको आयोजना गरेर १ सय ११ औं विपी जयन्ती मनाइएको छ । पाटनमा आयोजना गरिएको अन्तरक्रियामा कांग्रेस र विपीको सम्बन्धका बिषयमा छलफल गरिएको सचिव चन्दले जानकारी दिए । 

अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले विपी विचार अनुसार पार्टी चल्नुपर्नेमा जोड दिएको कांग्रेस बैतडीका अर्का सचिव देवराज जोशीले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update