Sagun Khabar
बैतडीको स्वाली गाउँ शोकमा डुब्यो 

बैतडी –एकैघरका दुईजनाको युवकको करेन्ट लागेर मृत्यु भएपछि बैतडीको सुर्नया गाउँपालिका ५ को स्वाली गाउँ शोकमा डुबेको छ । एकैघरका सहोदर दाजुभाईको करेन्ट लागेर मृत्यु भएको हो । 

सुर्नया गाउँपालिका ५ का स्वालीका २१ बर्षीय सन्तोष चन्द र १८ बर्षीय अमृत चन्दको बुधबार राती सवा ९ बजे जंगली बँदेलका लागि थापेको विद्युतीय धरापमा परेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । एकैघरका दुईजना कलिला उमेरका दाजुभाईको मृत्युको खबरले गाउँ शोकमग्न बनेको छ । 

Atrya hospital

मृतकका आमाबुवा होसमा छैनन् भने गाउँमा सान्नटा छाएको स्थानीय देवबहादुर चन्दले बताए । उनले भने ‘हामीले कल्पना नगरेको घटना भएको छ । गाउँ पुरै शोकमग्न भएको छ । कलिला युवा गुमाउँदा हामीलाई असह्य पीडा भईरहेको छ ।’

विद्यालय पढ्दै गरेका किशोरहरुको अकल्पनीय मृत्यु भएपछि गाउँमा अहिले उनीहरुसंगका साथीभाई समेत शोकमा डुबेका छन् । ‘संगै विद्यालय जान्थ्यौं । निकै रमाइलो हुन्थ्यो । सदाका लागि साथ छुटेपछि हामीलाई असह्य पीडा भईरहेको छ ।’ मृतक अमृतका साथी मनिष चन्दले भने, ‘अझै पनि विश्वास लागेको छैन् । तर दैवले हानेको चोट सहनुको विकल्प छैन् ।’

जंगली बँदेलले मकैबाली सखाप पार्न थालेपछि किसानहरु बँदेल धपाउन विभिन्न उपाय गरिरहेका छन् । बँदेलका लागि छाडिएको नांगो तारमा छोइएपछि दुईजना किशोरले अकालमा ज्यान गुमाएका छन् । जंगली बँदेलका कारण भोकमरी हुन थालेपछि किसानहरु आफ्नो ज्यानको बाजी थापेर पहरा दिईरहेका छन् तर मकै जोगाउन सकिएको छैन् । 

मकैबारी जोगाउनकै लागि ज्यानको बाँजी थाप्नुपरीरहेको स्वालीका देवबहादुर चन्दले बताए । उनले भने ‘मकै जोगाउनकै लागि रातभर जाग्राम बस्नुपर्ने अवस्था रही आएको छ । यति गर्दा समेत जोगाउन सकिएको छैन् । मकै जोगाउनैका लागि हाम्रो गाउँका दुई किशोरले ज्यान गुमाए । तर राज्यको ध्यान अझै पनि किसानका समस्या समाधानमा गएको छैन् ।’
 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update