Sagun Khabar
कांग्रेस महाधिवेशन : बैतडीमा नेता चन्दले बढाए सक्रियता 

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आईरहेका बेला बैतडीमा पनि महाधिवेशनको सरगर्मी बढेको छ । नेताहरुले अहिले गाउँगाउँमा गएर कार्यकर्ताहरुसंग भेटघाट र अन्तरक्रिया गरिरहेका छन् । 

नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य विनयध्वज चन्दको अगुवाईमा अहिले जिल्लाभरीका नेता, कार्यकर्ताहरुसंग भेटघाट र अन्तरक्रिया भईरहेको नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य रमेश भण्डारीले जानकारी दिए । नेपाली काँग्रेसका नयाँ क्रियाशील सदस्यहरुसंग पनि भेटघाट तथा अन्तरक्रिया भईरहेको उनले बताए । 

Atrya hospital

नेपाली कांग्रेसको आन्तरिक जीवनमा विपीको विचार मान्नेहरुको संख्या कम भईरहेकाले काँग्रेसमा जागरण पैदा गराउन आफू गाउँगाउँमा कार्यकर्ताहरुसंग भेट गरिएको नेता विनयध्वज चन्दले जानकारी दिए  । कांग्रेसभित्र रहेका विभिन्न गुट उपगुटको अन्त्य हुनुपर्ने बताउँदै उहाँले पार्टी कार्यकर्ताहरुलाई संगठित बनाउनका लागि आफूले पहल गरिरहेको उनले बताए । उनले भने ‘अहिले पार्टीमा अवसरवादीको हालीमुहाली भएको छ । त्यसैले सच्चा कांग्रेसीहरुलाई संगठित बनाउनका लागि मैले प्रयास गरिरहेको छु ।’

विपी विचार राष्ट्रिय समाजमा महासचिव समेत रहेका चन्दले पार्टीलाई गतिशील बनाउन ठाउँठाउँमा अन्तरक्रिया र भेटघाट गरिरहेको बताए  । अहिले मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा नेता कार्यकर्ताहरुसंग भेटघाट भईसकेको जिल्ला कार्यसमिति सदस्य भण्डारीले बताए ।

महाधिवेशनको बिषयमा कांग्रेसमा अझै पनि अन्यौल रहेका बेला स्थानीयस्तरमा भने नेता कार्यकर्ताहरु महाधिवेशन लक्षित भेटघाटमा व्यस्त रहेका छन् । 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १६:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update