Sagun Khabar
४ दिन सम्म पनि खुलेन जयपृथ्वी राजमार्ग 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ८ झौलेकमा पहिरो खस्दा अवरुद्ध भएको जयपृथ्वी राजमार्ग अझै सुचारु भएको छैन् । गएको आइतबार सडक तलतिरबाट पहिरो खसेपछि अवरुद्ध भएको राजमार्ग खुलाउन पहल भईरहेको भएपनि पर्खाल लगाउने काम नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । उनले भने ‘सडक तलतिर पहिरो खसेपछि पर्खाल लगाउने काम भईरहेको छ । पर्खाल लगाउने कार्य अझै सकिएको छैन् । पर्खाल नलगाउँदा सम्म सडक सञ्चालन गर्न सकिने अवस्था छैन् ।’

गएको चारदिनदेखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधन र अन्य सवारी साधन बीचबाटोमै रोकिएका छन् । जिपहरुले यात्रुहरुलाई झौलेक सम्म पुर्याउने गरेका छन् भने त्यहाँबाट अर्को सवारी साधनमा जानुपर्ने बाध्यता रही आएको छ । 
मालवाहक ट्रकहरु भने चारदिनदेखि बीचबाटोमै रोकिएको चालक किशोर मडैले बताए । उनले भने ‘सडकको तलतिर ठूलो पहिरो गएको छ । पर्खाल नलगाउँदा सम्म सडक सञ्चालन हुने अवस्था छैन् । हामी चारदिन देखि सडक सुचारु कहिले होला भनेर कुरीरहेका छौं ।’

Atrya hospital

जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा बझाङ जाने र बझाङबाट अन्यत्र जाने सवारी साधन बीचबाटोमै रोकिएका छन् । यस्तै बैतडीको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका लगायतका ठाउँबाट अन्यत्र जाने यात्रुहरु पनि मार्कामा परेका छन् । 

अवरुद्ध सडक खुलाउनका लागि तीव्र गतिमा काम भईरहेको दाबी गरेपनि चार दिन भईसक्दा समेत सडक सुचारु हुन सकेको छैन् । 

जयपृथ्वी राजमार्गमा बर्षातको समयमा बेलाबेलामा समस्या आउने गरेको छ । सो राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  ०७:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update