Sagun Khabar
गौराका लागि घर फर्कदै परदेशी 

बैतडी – सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा नजिक आएपछि गाउँघरमा चहलपहल बढेको छ । गौराका लागि घर बाहिर रहेकाहरु पनि घर फर्कन थालेका स्थानीयहरुले बताएका छन् । खास गरेर रोजगारीका लागि भारत पसेकाहरु पनि गौराका लागि घर फर्कन थालेको दशरथचन्द नगरपालिका वडा नं २ का स्थानीय प्रकाश बोहराले बताए । रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा काम गरिरहेकाहरु स्वदेश फर्कने क्रम बढेको छ । 

यो बर्षको गौरा भदौ ७ गतेबाट शुरु हुँदैछ । परदेशमा रहेकाहरु गौराका लागि घर फर्कन थालेका बोहराले बताए । उनले भने ‘अहिले गौराका लागि घर आउने मानिसको संख्या दिनदिनै बढीरहेको छ । गौराको समयमा परिवारका सबै सदस्य एकैठाउँमा बसेर मनाउने चलन रही आएको छ ।’

Atrya hospital

भारतसंग सीमा जोडिएका नाकाहरुबाट घर फर्कनेको संख्या पहिलाको तुलनामा बढेको छ । बैतडीको सीमा नाका झुलाघाटबाट स्वदेश भित्रिनेको संख्या हिजोआज बढेको इलाका प्रहरी कार्यालय झुलाघाटले जनाएको छ । सुदूरपश्चिमका विभिन्न ठाउँका नागरिकहरु गौरा मनाउनका लागि घर फर्कन थालेका बताइएको छ । 

गौराका लागि परिवारका सबै सदस्य एकैठाउँमा बसेर मनाउने चलन रहेकाले रोजगारीका लागि भारत गएकाहरु घर फर्कने चलन रही आएको छ । दशैं भन्दा पनि गौरालाई बढी महत्वका साथ मनाइने भएकाले परदेशीहरु घर फर्कने गरेको दशरथचन्द नगरपालिका १ का महेश भट्टले बताए । 

गौरा पर्वलाई यो क्षेत्रको मुख्य पर्वका रुपमा मनाइन्छ । भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइने यो पर्वका लागि बसाँईसराइ गरेर गएकाहरु पनि थातथलोमा फर्कने गरेका छन् । पहाडी समुदायमा गौराको समयमा देवीदेवताका मन्दिर तथा गौराखलाहरुमा खेल हुने भएकाले पनि बसाँईसराइ गरेकाहरु पुख्र्यौली थलोमा फर्कने गरेका हुन् । 

गौरालाई सामाजिक सद्भावको पर्वका रुपमा मनाइने गरेको जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक मानबहादुर चन्दले बताए । उनले भने ‘गौराको समयमा गाउँका सबै मानिस एक ठाउँमा जमा भएर सुखदुख साटासाट गर्न पाउँछन् । यसले गर्दा सामाजिक सद्भावमा पनि वृद्धि गरेको छ ।’

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update