Sagun Khabar
बैतडीको सिगासमा विद्युतको राष्ट्रिय प्रशारण लाइन विस्तार 

बैतडी –बैतडीको सिगास गाउँपालिकाले गाउँपालिकाका विभिन्न वडामा विद्युत विस्तार कार्य थालेको छ । गाउँपालिकाबासीको विद्युत सेवामा पहुँच पुर्याउनका लागि पालिकाले विद्युत राष्ट्रिय प्रशारण लाइन विस्तारको काम अघि बढाएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । 

सिगास गाउँपालिकामा अहिले सम्म विद्युत राष्ट्रिय प्रशारण लाइन नपुगेकाले पालिकाले आँफै बजेट विनियोजन गरेर विद्युत विस्तारको काम गरिरहेको उनले बताए । उनले भने ‘हामीले गाउँपालिकाका सबै वडामा विद्युतको पहुँच बढाउने लक्ष्य राखेका छौं । सोही अनुसार काम भईरहेको छ ।’

Atrya hospital

२ महिना अघि वडा नं १ मा विद्युत विस्तार गरेको गाउँपालिकाले अहिले वडा नं २ र ३ विद्युत विस्तारको काम गरिरहेको छ । अन्य वडाहरुमा विद्युत लाइन तान्ने काम भईरहेको गाउँपालिका अध्यक्ष धामीले बताए ।

विद्युत विस्तारका लागि गत आर्थिक बर्षमा ३ करोड विनियोजन गरेको पालिकाले चालु आर्थिक बर्षमा विद्युत विस्तारका लागि पौने २ करोड बजेट विनियोजन गरेको छ । 

आफ्नै कार्यकालभित्र पालिकाका सबै वडामा विद्युत पुर्याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष धामीले बताए । उनले भने ‘मैले यसै कार्यकालभित्र सबै वडामा विद्युतीकरण गर्ने लक्ष्य सहित काम गरिरहेको छु । केही वडामा लघुजलविद्युत मार्फत विद्युतको पहुँच पुर्याउने तयारी गरेका छौं ।’

सिगास गाउँपालिकाका विभिन्न वडामा विद्युतको राष्ट्रिय प्रशारण लाइन पुगेपछि स्थानीयबासी खुसी भएका छन् । गाउँमा विद्युत विस्तार भएपछि स्थानीयबासी खुसी भएका सिगासका राजेन्द्र साउँदले बताए । पालिकाले आफ्नै पहलमा विद्युत विस्तार गरेपछि नागरिक खुसी भएका उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  ०६:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update