Sagun Khabar
बैतडीको पुर्चौंडीलाई क्षयरोगमुक्त पालिका बनाउन अभियान सञ्चालन 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउनका लागि अभियान सञ्चालनमा रहेको छ । क्षयरोगमुक्त नेपाल अभियान अन्तर्गत पुर्चौंडीमा कार्यक्रम सञ्चालन भइरहेको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र अवस्थीले जानकारी दिए । 

अभियान अन्तर्गत वडास्तरीय योजना तर्जुमा गरिएको उनले बताए । यस्तै वडाहरुमा खकार संकलन र परीक्षण शिविर सञ्चालन भइरहेका अवस्थीले बताए । वडा नं ५ देखि १० सम्म ६ ओटा वडामा खकार संकलन र परीक्षण शिविर सम्पन्न गरिसकिएको छ । 

बाँकी रहेका वडाहरुमा केही दिनभित्रै शिविर सञ्चालन हुने पुर्चौंडी नगरपालिकाले जनाएको छ । अहिलेसम्म सञ्चालन भएका शिविरबाट थप एकजनामा क्षयरोग पत्ता लागेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । 

Atrya hospital

पुर्चौंडी नगरपालिकामा अहिलेसम्म १८ जना क्षयरोगका बिरामीहरु उपचारमा रहेका छन् । 

क्षयरोगमुक्त पालिका अभियान अन्तर्गत प्रत्येक वडाहरुमा स्वयंसेवक छनौट गरेर परिचालन गरिएका छन् । स्वयं सेवकहरुलाई पनि तालिम दिएर क्षयरोगका बिरामीहरुको खोज पडताल भइरहेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । 

बैतडीमा १ सय ७ जना क्षयरोगका बिरामीहरु उपचारमा रहेका छन् । 

देशभरीका १ सय २५ पालिकामा यो अभियान सञ्चालन भएको र यसलाई सबै पालिकामा विस्तार गरिने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । 

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । लगातार दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुनु क्षयरोगका लक्षण हुन् ।

यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । क्षयरोगका औषधि सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा पाइने गरेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाले बताए ।
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update