Sagun Khabar
कैलपाल–सकार जोड्ने मोटरेबल पुलको ठेक्का रद्द  गरिने 

बैतडी –बैतडीको कैलपाल–सकार जोड्ने सुर्नयागाड मोटरेबल पुलको ठेक्का सातदिन भित्र तोडिने भएको छ । बिहीबार गृह जिल्ला बैतडीमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखहरुको बैठकमा पुल निर्माणका बिषयमा चासो व्यक्त गरेका थिए । सडक डिभिजन कार्यालयका प्रमुख मुकुन्द लामिछानेलाई पुल निर्माणका बिषयमा छिटो एउटा निर्णयमा पुग्न निर्देशन समेत दिएका छन् । 

लामो समयदेखि उक्त पुल अलपत्र परेको भन्दै सातदिन भित्र निर्माण कम्पनीसंगको ठेक्का तोड्ने कार्यालय प्रमुख लामिछानले प्रतिबद्धता व्यक्त गरेका छन् । 

कार्यालय प्रमुखहरुसंगको बैठकमा मन्त्री भण्डारीले यसअघिको छलफल सडक डिभिजन कार्यालयले पालन नगरेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए । सडक विभागका निर्देशकसहितको छलफलमा भएको सहमति कार्यान्वयन नभएको उनले बताए ।

Atrya hospital

मन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालाई सातदिन भित्र पुलका बिषयमा ठोस निर्णय नभएमा आवश्यक कारवाही अगाडि बढाउन निर्देशन दिएका छन् । 

करिब ६० प्रतिशत मात्र काम सकिएको पुलको ठेक्का तोड्ने प्रक्रिया यसअघि पनि सुरु भएको थियो ।

निर्माणको जिम्मा पाएको कम्पनीले भने चार पटक म्याद थप गर्दा पनि पुल निर्माण कार्य भने सम्पन्न हुन सकेको छैन् । २०७१ भदौ १५ गते पुल निर्माण लागि सम्झौता भएपनि ३२ महिना मोटरेबल पुल बन्ने ठाउँमा जाने बाटोको विवाद, १ वर्ष संघ र प्रदेश मध्ये कसले हेर्ने भन्ने अन्यौलता, जमीनको मुआम्बजा लगायतको विवादले पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले बताउँदै आएको छ । 

पुल निर्माणका लागि ठेक्का भएको एक दशक बितिसक्दा समेत उक्त पुल नबन्दा नागरिकलाई भने आवतजावतमा निकै समस्या हुने गरेको छ । 

बर्षातको समयमा पाटन नगरपालिका वडा नं १ र ७ का बासिन्दालाई पालिकाको केन्द्र पुग्न घण्टौं हिड्नुपर्ने बाध्यता रहेको छ । सुर्नयागाडको पुल समय नबन्दा बर्षातको समयमा दैनिक खाद्यसामग्री ढुवानीमा समेत समस्या हुने गरेको स्थानीयहरुको भनाइ छ । 

सडक सञ्जाल बिस्तार भएपनि वर्षातमा मोटरेबल पुलकै अभावका कारण बर्षातमा गाडी नचल्ने गरेको स्थानीयहरुले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update