Sagun Khabar
विपन्न बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–५स्थित दशरथचन्द मावि सुन्दरखालीमा अध्ययनरत विपन्न बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । 

विद्यालयमा अध्ययनरत ५ जना विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए । 

Atrya hospital

कैलालीको धनगढीस्थित अल स्पोर्टस गार्मेन्ट प्रालिले उपलब्ध गराएका ५ थान विद्यालय पोशाक छात्रछात्राहरुलाई वितरण गरिएको हो । 

बैतडीको सुर्नया गाउँपालिका ४ बङसल्ला घर भई हाल धनगढी बस्दै आएका गार्मेन्टका सञ्चालक नरबहादुर चन्दले विपन्न बालबालिकाहरुका लागि विद्यालय पोशाक उपलब्ध गराएका हुन् । सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बालबालिकाहरुका लागि पोशाक उपलब्ध गराएको र आगामी दिनमा समेत गार्मेन्टका तर्फबाट सहयोग रहने उनले बताए । 

दशरथचन्द मावि सुन्दरखालीमा बिहीबारमात्रै विद्यालयका पूर्व विद्यार्थी दिपक नाथको सहयोगमा १० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री र दुई जनालाई विद्यालय पोशाक वितरण गरिएको थियो । 

यस्तै विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती चन्दले पनि बिहीबार आफ्नो जन्मदिनको अवसरमा बालबालिकाहरुलाई शैक्षिक सामग्री र ड्रेस उपलब्ध गराएकी थिइन् । 

विद्यालयमा विपन्न परिवारका बालबालिकाहरु अध्ययनरत रहेका विभिन्न समयमा सहयोगी हातहरुमार्फत सहयोग प्राप्त भइरहेको प्रधानाध्यापक चन्दले बताए । स–सानो सहयोगले समेत विपन्न परिवारका बालबालिकाहरुलाई पठनपाठनमा सहज हुने भएकाले सहयोगी हातहरुलाई विद्यालयका तर्फबाट धन्यवाद दिइएको प्रधानाध्यापक चन्दले बताए । 

दशरथचन्द मावि सुन्दरखालीमा कक्षा १२ सम्मको पढाई हुँदै आएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update