Sagun Khabar
बैतडी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किए, १० दिनका लागि आन्दोलन स्थगित 

बैतडी–जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन् । गएको आइतबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रेका चिकित्सक र स्वास्थ्यकर्मीहरु बिहीबारदेखि काममा फर्केका हुन् । 

स्वास्थ्यकर्मी र चिकित्सकहरुले उठाएका मागका बिषय सम्बोधन गर्नका लागि १० दिनको समय माग गरिएकाले अस्पताल विकास समितिसंगको सहमतिमा आन्दोलन स्थगित गरिएको आन्दोलनरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

Atrya hospital

गएको ९ महिनादेखि अतिरिक्त भत्ता, जोखिम भत्ता बाफतको रकम नपाएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका थिए । 

चिकित्सक र स्वास्थ्यकर्मीहरुको माग सम्बोधनका लागि मन्त्रालयले मागेका आवश्यक कागजात र अन्य प्रक्रियाहरु पुर्याउनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको र आजदेखि अस्पतालका सबै सेवाहरु सुचारु भएका जिल्ला अस्पतालको प्रशासन शाखामा कार्यरत नायब सुब्बा उमेशकुमार पन्तले बताए । 

जिल्ला अस्पतालका सेवाहरु सुचारु भएपछि बिरामीहरुलाई सहज भएको छ । स्वास्थ्यकर्मी र चिकित्सकहरु आन्दोलित भएपछि बिरामीहरुलाई मार्का परेको थियो । 

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीहरुको अतिरिक्त भत्ता, जोखिम भत्ता बापतको रकम निकासा नदिँदा समस्या भएको पन्तले बताए ।  
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update