Sagun Khabar
बैतडीमा आत्महत्याका घटना बढ्दै 

बैतडी –बैतडीमा आत्महत्याका घटना बढ्दै गएका प्रहरीको तथ्यांकले देखाएको छ । हरेक बर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक बर्ष २०७८÷७९ मा ३८ जनाले आत्महत्या गरेका छन् । ती मध्ये १३ महिला र २५ जना पुरुष रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए । उक्त आर्थिक बर्षमा ११ महिला र १९ पुरुष गरी ३० जनाले झुण्डिएर आत्महत्या गरेका थिए भने ६ जना पुरुषले बिष सेवन गरेर आत्महत्या गरेका थिए । यस्तै २ जना महिलालाई आत्महत्या गर्न बाध्य बनाइएको प्रहरीको तथ्यांकले देखाएको छ । 

यसैगरी गत आर्थिक बर्षमा १५ महिला र ११ पुरुष गरी २५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । ११ महिला र १० पुरुषले झुण्डिएर आत्महत्या गरेकोमा ३ महिला र १ पुरुषले बिष सेवन गरेर आत्महत्या गरेको पाइएको छ । यस्तै १ जना महिलालाई आत्महत्या गर्न बाध्य बनाइएको भन्दै आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको प्रहरी निरीक्षक जोशीले बताए । 

Atrya hospital

चालु आर्थिक बर्षको अहिलेसम्म ३२ जनाले आत्महत्या गरिसकेका छन् । यो बर्ष ४ जना बालिकाले समेत आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जोशीले बताए । ९ जना महिला, १४ जना पुरुष र ४ जना बालिकाले झुण्डिएर आत्महत्या गरेको प्रहरी निरीक्षक जोशीले बताए । चालु आर्थिक बर्षको अहिलेसम्म १ जना महिला र २ जना पुरुषले बिष सेवन गरेर आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । यस्तै दुईजना महिलालाई आत्महत्या गर्न बाध्य बनाइएको भन्दै आत्महत्या दुरुत्साहनमा मुद्दा दायर भएको प्रहरी निरीक्षक जोशीले बताए । 

पछिल्लो समयमा सामाजिक सञ्जाल र प्रविधिको बढ्दो दुरुपयोग, लागू औषध लगायतका कारणले आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । 

आत्महत्या जनस्वास्थ्यको विकराल समस्याको रुपमा देखिएकाले मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नुपर्नेमा स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले जोड दिए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update