Sagun Khabar
डिलाशैनीले शैक्षिक सम्मलेन गर्दै 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले पालिकास्तरीय शैक्षिक सम्मेलन गर्ने भएको छ । आगामी जेठ १६ देखि १८ गतेसम्म गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा शैक्षिक सम्मेलनको आयोजना गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । 

सम्मेलनमा गाउँपालिकाभरीका ५६ ओटा सामुदायिक विद्यालयहरुको सहभागिता रहनेछ । सम्मेलनमा विद्यालयहरुले पञ्चबर्षीय कार्ययोजना प्रस्तुत गर्ने र सोही अनुसार निती निर्माण गरेर अघि बढ्ने प्रवक्ता भट्टले बताए । 

Atrya hospital

सामुदायिक शिक्षाको गुणस्तर सुधारमा टेवा पुर्याउनका लागि सम्मेलनको आयोजना गर्न लागिएको डिलाशैनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताए । उनले भने ‘हामीले सामुदायिक शिक्षालाई प्रभावकारी बनाउनका लागि सम्मेलनको आयोजना गर्ने तयारी गरेका छौं । यो सम्मेलनबाट शिक्षा क्षेत्र सुधारका लागि ठोस योजना बन्ने विश्वास गरेका छौं ।’

शैक्षिक सम्मेलनमा विद्यालयहरुको आवधिक योजनाका साथै विज्ञान कला प्रदर्शनी गरिने शिक्षा शाखा प्रमुख भट्टले बताए । यस्तै नृत्य प्रतियोगिता पनि सञ्चालन गरिने उनले बताए । नृत्य प्रतियोगितामा एउटा वडाबाट तीनओटा टीमको सहभागिता गराइने प्रवक्ता भट्टले बताए । 

यस्तै सम्मेलनमा शिक्षा क्षेत्रमा लामो समयदेखि काम गरिरहेका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । तीनदिन सम्म सञ्चालन हुने सम्मेलनले शिक्षा क्षेत्र सुधारका लागि आवश्यक खाका कोर्ने प्रवक्ता भट्टले दाबी गरे । उनले भने ‘हामीले पहिलो पटक गाउँपालिकास्तरीय शैक्षिक सम्मेलनको आयोजना गर्दैछौं । यो सम्मेलनबाट शिक्षा क्षेत्र सुधारको बाटो पत्ता लाग्ने विश्वास लिएका छौं ।’

शैक्षिक सम्मेलनका लागि करीब ६ लाख खर्च हुने अनुमान गरिएको छ । सम्मेलनमा प्रत्येक विद्यालयका प्रधानाध्यापकहरुले विद्यालय सुधारका पञ्चबर्षीय योजना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

पालिकाभरीको शैक्षिक अवस्थाको बिश्लेषण गर्दै शैक्षिक गुणस्तर सुधारका लागि ठोस योजना बनाउँदै सम्मेलन सकिने शिक्षा शाखा प्रमुख भट्टले बताए ।  
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update