Sagun Khabar
बैतडीको शिवनाथमा आँखा शिविर सम्पन्न, ६ सय ३३ जनाले लिए सेवा 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकामा आयोजना गरिएको दुई दिने निशुल्क शल्यक्रियासहितको आँखा शिविर सम्पन्न भएको छ । 

शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेस नेपालको संयुक्त आयोजना तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो । 

Atrya hospital

शनिबार र आइतबार दुई दिन सञ्चालन भएको शिविरबाट ६ सय ३३ जनाले आँखाको जाँच गराएको शिवनाथ गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले जानकारी दिए । मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकहरुले शिविरमा सेवा लिएको उनले बताए । 

शिविरमा आएका मध्ये १ सय ६ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ भने ४ जनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको छ । आफ्नै गाउँठाउँबाट शल्यक्रियासहितको शिविरबाट आँखासम्बन्धि सेवा पाएपछि स्थानीय नागरिक खुसी भएका छन् । 

गाउँपालिकाबासी र आसपासका नागरिकलाई मध्यनजर गरेर शिविरको आयोजना गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविरको आयोजना गरिएको उनले बताए । 

धनगढी नेत्रालयले गएको साता जिल्लाको पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकामा पनि शल्यक्रियासहितको शिविरको आयोजना गरेको नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले जानकारी दिए ।  
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update