Sagun Khabar
बैतडी अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प, स्वास्थ्यकर्मी र चिकित्सक आन्दोलित 

बैतडी –जिल्ला अस्पताल बैतडीमा आकस्मिकबाहेकका सबै सेवा ठप्प भएका छन् । अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलित भएपछि सेवा ठप्प पारिएका हुन् । 

विगत ९ महिनादेखि अतिरिक्त भत्ता, सार्वजनिक बिदामा काम गरे बाफतको भत्ता र प्रयोगशालामा काम गरेको बाफतको जोखिम भत्ताको रकम भुक्तानी नदिएको विरोधमा आन्दोलनरत चिकित्सक आइतबारदेखि सेवा ठप्प पारेका हुन् ।  उनीहरुले पाउनुपर्ने भत्ता रकम ९६ घण्टाभित्र भुक्तानी नभएमा आकस्मिकबाहेकका सेवा दिन असमर्थ रहने भन्दै अल्टिमेटम दिएका थिए ।

बुधबार दिएको आन्दोलनको ९६ घण्टे अल्टिमेटम शनिबार सकिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई गत पुसदेखि भत्ता रकम निकासाका लागि बारम्बार पत्राचार गर्दा पनि कुनै सुनवाइ नभएको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आरोप छ । 

Atrya hospital

आफूहरुले बारम्बार माग पूरा गर्न आग्रह गरेको भएपनि कुनै सुनुवाई नभएपछि सेवा ठप्प पार्नुपर्ने अवस्था आएको जिल्ला अस्पतालमा कार्यरत डा. धिरज जैसवालले बताए । उनले भने ‘हामीले अतिरिक्त काम गरेको रकम पाएका छैनौं । नियमानुसार पाउनुपर्ने रकम नपाएपछि काम गर्ने वातावरण छैन् ।’

बैतडी जिल्ला अस्पतालमा ११ जना चिकित्सक कार्यरत छन् ।  स्वास्थ्य सेवा नियमावलीअनुसार सातामा ४० घण्टाभन्दा बढी काम गरेमा र सार्वजनिक बिदामा काम गरेको अवस्थामा अतिरिक्त भत्ता पाउने व्यवस्था छ । मेडिकल अधिकृतको हकमा सम्बन्धितले पाउने मासिक तलबअनुसार ८ घण्टा अतिरिक्त काम गरेमा दैनिक १ हजार ६ सय भत्ता दिने व्यवस्था रहेको छ । 

यसैबीच जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिशचन्द्र बिष्टले आफू जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले गरेको आन्दोलनमा समर्थन जनाउँदै भोको पेटमा काम गराउन नसक्ने भन्दै उनले निमित्त मेसुको जिम्मेवारी छोडेका हुन् । 

2-1715498276.jpg
 

जिल्ला अस्पताल बैतडीका मेसु डा.सुशील विकले वैशाख २० गते उनलाई निमित्त दिएर जिल्ला बाहिर रहेका छन् । यो बिषयमा मेसु विकसंग सम्पर्क गर्न खोजेपनि फोन रिसिभ भएको छैन् । 

मन्त्रालयको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत समस्या समाधान नभएकाले आफुहरु धनगढीमै रहेको जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताइन् । 

आन्दोलनरत स्वास्थ्यकर्मी र चिकित्सकहरुले आफूहरुका मागका बिषयमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमै पुगेर प्रमुख जिल्ला अधिकारीलाई आफ्ना माग र आन्दोलनका बिषयमा जानकारी गराएको डा. जैसवालले बताए । 

यसबारेमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नागरिकहरुलाई अप्ठ्यारो हुने काम नगर्न चिकित्सकहरुलाई सुझाएका छन् । उनले भने ‘तपाँईहरुका जायज मागको बारेमा मैले पनि सचिवज्यू संग कुरा गरेको छु, आशा छ समस्या समाधान होला, नागरिकहरुलाई तथा बिरामीहरुलाई मर्का पर्ने काम गर्नु भएन् ।’

अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएपछि बिरामीहरु मार्कामा परेका छन् । दुई बर्ष पहिला देशकै उत्कृष्ट अस्पतालको रुपमा पहिचान बनाएको बैतडी अस्पताल पछिल्लो समयमा खस्कदै गएको छ । 

4-1715498296.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update