Sagun Khabar
भारतको सहयोगमा भुमेश्वर माविको भवन निर्माण हुने, औपचारिक रुपमा शिलान्यास 
तस्बिर सौजन्य : भागरथी भट्ट

बैतडी–भारत सरकारको सहयोगमा निर्माण हुने भुमेश्वर माविको भवनको औपचारिक शिलान्यास गरिएको छ । बैतडीको पाटन नगरपालिका–४ स्थित भुमेश्वर माविको १२ कोठे नयाँ भवन निर्माण कार्यको औपचारिक रुपमा शुक्रबार शिलान्यास गरिएको छ ।

नेपालस्थित भारतीय राजदुतावासका प्रथम सचिव अभिनाशकुमार सिंह र पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले संयुक्त रुपमा उक्त भवन निमार्ण कार्यको शिलान्यास गरेका हुन् । 

आगामी १६ महिनामा सक्ने गरेर भवन निर्माणको अगाडि बढ्ने भुमेश्वर माविका प्रधानाध्यापक विरेन्द्र चन्दले बताए । नेपाल भारत विकास सहयोग अन्तर्गत भारत सरकारले नेपालस्थित भारतीय राजदूतावासबाट ४ करोड बजेट पाटन नगरपालिकालाई उपलब्ध गराएको छ । ठेक्का प्रक्रियामा ठेकेदार कम्पनीले ३ करोड ८० लाखको लागतमा भवनको निर्माण गर्ने पाटन नगरपालिकाका इन्जिनियर गोविन्द पन्तले जानकारी दिए । 

Atrya hospital

भवन शिलान्यास कार्यक्रममा बोल्दै भारतीय राजदुतावासका प्रथम सचिव सिंहले नेपाल भारत विकास सहयोग अन्र्तगत विद्यालय बस, एम्बुलेस तथा विद्यालय भवन निमार्णमा आर्थिक सहयोग गरिरहेको बताए । नेपाल भारतको असल छिमेकी भएकाले सहयोगको दायरा बढाउँदै लगिएको उनले बताए । बैतडीमा अहिले एउटा बिद्यालय भवन निमार्ण सुरु गरिएको छ भने सुर्नया गाउँपालिकालाई एम्बुलेस वितरण गरिएको उनले बताए । सुर्नयासहित ५ ओटा ठाउँमा एम्बुलेन्स वितरण गरिएको सिंहले बताए । 

आगामी दिनमा समेत भारत सरकारकातर्फबाट नेपाललाई निरन्तर रुपमा आर्थिक सहयोग हुने सचिव सिंहले विश्वास व्यक्त गरे । 

भवन शिलान्यास कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका नगरप्रमुख रावलले भारत सरकारले गरेको सहयोगको प्रंशसा गर्दै आगामी दिनमा समेत यस्ता सहयोगहरु निरन्तर रहने विश्वास व्यक्त गरे । 

भवन शिलान्यास कार्यक्रममा बैतडीका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, जिल्ला समन्वय समिति बैतडीका पूर्व प्रमुख सिद्धराज भट्ट लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । 

भारतीय राजदुतावासका प्रथम सचिव सिंहलाई विद्यालय परिवारले छलिया बाजासहित भव्य स्वागत गरेको प्रधानाध्यापक चन्दले जानकारी दिए । 

१२ कोठे भवन निमार्ण भएमा विद्यालयमा भवनको अभाव हट्ने र पठनपाठनमा सहज हुने विद्यालयका प्रधानाध्यापक चन्दले जानकारी दिए । भुमेश्वर माविमा अहिले कक्षा १२ सम्मको पठनपाठन भइरहेको छ ।  

bhwan-12-1715339165.jpg
bhwan-13-1715339202.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update