Sagun Khabar
बैतडीमा यो बर्ष आगलागीबाट साढे एक करोडको क्षति 

बैतडी –बैतडीमा आगलागीबाट यो बर्षको अहिलेसम्म झण्डै साढे एक करोड बराबरको क्षति भएको छ । 

चालु आर्थिक वर्षको हालसम्मको अवधिमा भएका आगलागीका घटनाबाट  एक करोड ३४ लाख, ९९ हजार पाँच सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

चालु आर्थिक बर्षको साउनदेखि अहिले सम्म १२ ओटा आगलागीका घटना भएका र ती घटनाबाट १ करोड ३४ लाख ९९ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ । उनले भने ‘विभिन्न ठाउँमा भएका आगलागीका घटनाबाट यो क्षति भएको छ । आगलागीबाट कतिपय नागरिक घरबार विहिन भएका छन् ।’ 

Atrya hospital

आगलागीबाट पसल, घर, सुनचाँदी र नगद रुपैयाँ समेत जलेका छन् । आगलागीका घटनाबाट जिल्लामा यो बर्ष तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जोशीले बताए । 

गत भदौमा दशरथचन्द नगरपालिका–४ गढीमा रहेको प्रदीप बरालको सुनचाँदी पसलमा आगलागी हुँदा ४५ लाख बराबरको क्षति भएको प्रहरीको तथ्यांक छ । 

यस्तै कार्तिकमा पुर्चाैडी नगरपालिका –१ डाँडाकोटका जयानन्द जोशीको घरमा आगलागी हुँदा ३० लाख, मेलौली नगरपालिका–२ का पूर्णबहादुर चन्दको घरमा भएको आगलागीबाट ५० हजारको क्षति भएको छ । 

गएको मंसिर अन्तिम साता पाटन नगरपालिका –२ की जयन्ती पन्तको घरमा आगलागी हुँदा चार लाख ५० हजार, डिलाशैनी– ७ का जनकराज जोशीको घरमा आगलागी हुँदा ७० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्यांक छ । 

माघ महिनामा  डिलाशैनी गाउँपालिका –६ का पुष्कर थलालको घरमा आगलागी हुँदा पाँच लाख, फागुनमा सुर्नया –७ का तेजबहादुर पार्कीको घरमा आगलागी भएर दुई  लाख ४८ हजार, चैतमा डिलाशैनी –२ को एक घरमा आगलागी हुँदा एक लाखको क्षति भएको छ ।

वैशाखमा पञ्चेश्वर गाउँपालिका–४ का जयबहादुर चन्दको घरमा आगलागी हुँदा पाँच लाख, सुर्नया गाउँपालिका–२ का करन पाण्डेको घरमा आगलागी भएर रु ६० हजार र पाटन नगरपालिका –१ की धौली लुहारको भान्सा कोठामा आगलागी हुँदा रु २१ हजार ५०० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

विद्युत सर्ट एवं मानवीय त्रुटीका कारण आगलागीका घटना भएका प्रहरीले जनाएको छ । 

यस्तै यो बर्ष वनजंगलमा लागेको डढेलोका कारण लाखौंका वनसम्पदा तथा वन्यजन्तुहरु नष्ट भएका डिभिजन कार्यालयको तथ्यांक छ । जिल्लाभरीका १ सय ९ ओटा सामुदायिक तथा राष्ट्रिय वनहरुमा डढेलोले क्षति पुर्याएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिपकुमार यादवले बताए । 

वनजंगलमा आगो लगाएमा घाँस राम्रो हुन्छ भन्ने गलत मानसिकताका कारण हरेक बर्ष वनजंगलहरुमा डढेलो लगाउने गरेको पाइएको यावदले बताए । आगलागी नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको भएपनि आगलागीका घटना न्यूनीकरण भने हुन सकेका छैन् । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update