Sagun Khabar
बैतडीका दुईसहित सुदूरका १५ पालिकामा क्षयरोगमुक्त नेपाल अभियान सञ्चालन 

बैतडी –बैतडीका दुईसहित सुदूरपश्चिमका १५ ओटा पालिकामा क्षयरोगमुक्त नेपाल अभियान सञ्चालन भएको छ । क्षयरोग नियन्त्रणका लागि परीक्षण र खोज कार्यक्रमलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गरिएको हो । 

अभियान सञ्चालन भएका पालिकाहरुमा क्षयरोग नियन्त्रणका लागि थप कार्यक्रम सञ्चालन हुने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाले बताए । अभियान सञ्चालन भएका पालिकाहरुमा क्षयरोग नियन्त्रणका लागि परीक्षण र खोज कार्यक्रमलाई विस्तारित गरिने ओझाले बताए । 

बैतडीका सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकामा यो अभियान सञ्चालन भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । अभियान सञ्चालन भएका पालिकाहरुमा क्षयरोगका बिरामीहरुलाई उपचारको दायरमा ल्याउन विभिन्न कार्यक्रम सञ्चालन हुने उनले बताए । 

Atrya hospital

कैलालीका टीकापुर नगरपालिका,लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा अभियान सञ्चालन हुनेछ । यस्तै कञ्चनपुरका लालझाडी गाउँपालिका, दोधरा–चाँदनी नगरपालिका र कृष्णपुर नगरपालिकामा अभियान सञ्चालन भएको क्षयकुष्ठ अधिकृत ओझाले बताए । 

डडेल्धुराका गन्यापधुरा गाउँपालिका, अजयमेरु गाउँपालिका र अमरगढी नगरपालिकामा अभियान सञ्चालन भएको छ भने दार्चुलाको मालिकार्जुन गाउँपालिकामा अभियान सञ्चालन भएको छ । 

यस्तै डोटीको जोरायल गाउँपालिका, बझाङको थलारा गाउँपालिका र अछामको बान्नीगढ जयगढ गाउँपालिकामा अभियान सञ्चालन भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम सञ्चालनका लागि पालिकाले आवश्यक स्वास्थ्यकर्मीहरुको भर्ना गरिसकेको बैतडीको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । अब वडाहरुमा स्वयंसेवक राखेर अभियानलाई अघि बढाइने उनले बताए । 

यस्तै पुर्चौंडी नगरपालिकामा पनि अभियानलाई प्रभावकारी बनाउने गरेर आवश्यक क्रियाकलापहरु अघि बढीसकेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र अवस्थीले बताए । 

समुदायमा क्षयरोगका बिरामीहरु पत्ता लगाउन नसकिरहेका बेला क्षयरोगमुक्त नेपाल अभियान सञ्चालन भएका पालिकाहरुमा सघन रुपमा कार्यक्रम सञ्चालन हुने क्षयकुष्ठ अधिकृत ओझाले बताए । 

देशभरीका १ सय २५ पालिकामा यो अभियान सञ्चालन भएको र यसलाई सबै पालिकामा विस्तार गरिने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । 

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । लगातार दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुनु क्षयरोगका लक्षण हुन् ।

यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । क्षयरोगका औषधि सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा पाइने गरेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update