Sagun Khabar
तरकारी खेतीबाट मनग्गे आम्दानी गर्दै गुरुखोलाका महिलाहरु 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका वडा नं –१ गुरुखोलाका महिलाहरु तरकारी खेतीबाट मनग्गे आम्दानी गर्दै आएका छन् । पछिल्लो समयमा व्यवसायिक तरकारी खेतीमा लागेका उनीहरु तरकारी खेतीबाटै बार्षिक लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन् । 

मौसमी र बेमौसमी तरकारी फलाएर तरकारी खेतीबाटै आत्मनिर्भर बनेको दशरथचन्द नगरपालिका–१ मुडापकी सीता भाटले बताइन् । आफ्नो बारीमा अहिले पालुंगो उत्पादन गरेकी भाटले यो सिजनमा करीब ४० हजारको पालुंगो विक्रि गरेको उनले बताइन् । मौसम अनुसारका तरकारी उत्पादन गर्ने गरेको भाटले बताइन् । उनले भनिन्, ‘हामीले तरकारी खेतीबाटै परिवार चलाएका छौं । सामान्य घर खर्चका लागि श्रीमानको मुख हेर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । तरकारी खेतीले हामीलाई आत्मनिर्भर बनाएको छ ।’

Atrya hospital

तरकारी खेतीबाट आफूहरुलाई आत्मनिर्भरताको बाटोमा हिड्न सहज भएको मुडापकै भागरथी भाटले बताइन् । मकै, गहुँजस्ता अन्नबाली भन्दा तरकारी खेतीबाट फाइदा हुने भएपछि आफूहरु तरकारी खेतीमा लागेको उनले बताइन् । तरकारी खेतीबाटै बार्षिक डेढ लाख जति कमाइ हुने गरेको उनले बताइन् । उनले भनिन्, ‘हामीले सिजन अनुसार तरकारी फलाउँदै आएका छौं । तरकारी खेतीबाट हामीलाई धेरै फाइदा भएको छ । घरको सम्पूर्ण खर्च हामी तरकारी खेतीबाटै चलाउँदै आएका छौं ।’

दशरथचन्द नगरपालिका –१ गुरुखोला खालकी धाना टेरले पनि तरकारी खेतीबाटै बार्षिक २ लाख जति कमाउने गरेको सुनाइन् । अहिलको सिजनमा पालुंगो, बन्दा, करेला, टमाटर लगायतका तरकारी विक्रि गरेर आम्दानी गरेको उनले बताइन् । उनले भनिन्, ‘तरकारी खेतीबाट अन्य खेतीको तुलनामा फाइदा हुने गर्दछ । हामी महिलाहरुलाई आत्मनिर्भर बनाउन तरकारी खेतीले सहज भएको छ ।’

दशरथचन्द नगरपालिका–१ को मुडाप, खाल, सतबाँझ लगायतका क्षेत्रबाट किसानहरुले बर्षेनी लाखौंको तरकारी विक्रि गर्दै आएका छन् । तरकारी खेतीमा अधिकांश महिलाहरु सहभागी रहेका छन् । उनीहरुले तरकारी खेती गर्ने सीप समेत सिकेका छन् । तरकारी खेतीले आफूहरुलाई आत्मनिर्भर बनाएको मुडापकी निर्मला भाटले बताइन् । उनले भनिन्,‘तरकारी खेतीले हामीलाई आत्मनिर्भर बनाएको छ ।यसले घरपरिवार चलाउन समेत सहज भएको छ ।’

दशरथचन्द नगरपालिका –१ स्थित मुस्याचौर बजारमा अहिले ६० रुपैयाँ प्रतिकेजीका हिसाबले पालुंगो विक्रि हुँदै आएको छ । यहाँ उत्पादित पालुंगो लगायतका हरियो तरकारीहरु धनगढी विक्रि गर्ने गरिएको जेएम बहुउद्देयीय कृषि फर्मका सञ्चालक रामबहादुर टेरले बताए । गाउँबाट किसानहरुले ल्याएको तरकारी संकलन गर्ने र संकलित तरकारी धनगढी पठाउने गरेको उनले बताए । यहाँबाट दैनिक पालुंगो, बन्दा, करेला, टमाटर धनगढी पठाइरहेका छौं । यहाँ उत्पादित तरकारीको माग भएकाले किसानहरुबाट संकलन गरेर धनगढी पठाउने गरेको उनले बताए । 

अहिले पालुंगोमात्रै दैनिक १० क्विन्टल धनगढी पठाउने गरेको टेरले बताए । यहाँका महिला किसानहरुले तरकारी खेतीबाटै राम्रो आम्दानी गरिरहेका उनले सुनाए । 

Tarkari-A-1730003381.jpg

 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update