Sagun Khabar
बैतडीका तीन पालिकामा आजदेखि कोभिडविरुद्धको खोप अभियान शुरु 

बैतडी –बैतडीको तीनओटा पालिकामा आजदेखि कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएको छ । जिल्लामा यही कार्तिक ९ गतेदेखि कोभिड विरुद्धको खोप अभियान शुरु भएकोमा तीनओटा पालिकामा आजदेखि खोप अभियान शुरु भएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

बैतडीका पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा यही कार्तिक ९ गतेदेखि खोप अभियान शुरु भएको थियो । 

Atrya hospital

जिल्लाको सुर्नया गाउँपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा आजदेखि खोप अभियान शुरु भएको हो । तीनओटै पालिकामा आज र भोलि खोप अभियान सञ्चालन हुने सम्बन्धित पालिकाहरुले जनाएका छन् । 
कोभिड १९ भाइरसले आनुवांशिक स्वरुप परिवर्तन गरेर फैलिरहेको हुँदा स्वास्थ्य मन्त्रालयको नीति अनुसार जिल्लामा पनि खोप अभियान सञ्चालन भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । जिल्लामा यही कार्तिक २८ गतेसम्म कोभिड विरुद्धको फाइजर खोप दिने तालिका रहेको उनले बताए । 

खोप अभियान सञ्चालन भएका पालिकाहरुमा यो भन्दा पहिला कोरोना विरुद्धको खोप नलगाएका १२ बर्षभन्दा माथिका सबै नागरिक र कोरोना खोप लगाएको १ बर्ष पूरा भएका १२ बर्षमाथिका सबै नागरिकलाई कोभिड –१९ विरुद्धको खोप दिने कार्य भइरहेको छ । गर्भवती महिलाहरुको हकमा तीन महिना पूरा भएकाहरुलाई मात्रै खोप दिने गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

सुर्नया गाउँपालिकामा १८ ओटा खोप केन्द्रमार्फत खोप अभियान सञ्चालनमा रहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । लक्षित समूहका नागरिकलाई खोप दिने कार्य भइरहेको उनले बताए । पहिलो दिन आज ८ ओटा खोप केन्द्रमार्फत ५ सय ३८ जनालाई खोप लगाइएको उनले बताए । बाँकी खोप केन्द्रमार्फत भोलि खोप दिइने उनले बताए । 

खोप अभियान सञ्चालनका लागि जिल्लाभरी १ सय ४८ ओटा खोपकेन्द्र तोकिएका छन् । अभियानका लागि एक खोप केन्द्रमा एकजना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवक खटिने  स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । 

५ ओटा पालिकामा तिहारपछि खोप अभियान सञ्चालन गरिनेछ । पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा कार्तिक २६ र २७ गते खोप अभियान सञ्चालन हुने तय भएको छ । जिल्लाको दशरथचन्द नगरपालिकामा कार्तिक २७ र २८ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update