बैतडी - नेकपा एमाले बैतडीले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएको छ । सगुन खबर संग कुरा गर्दै एमाले बैतडी उपसचिव लोकेन्द्र बहादुर भण्डारीले जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास हुने बताएका हुन् । एमाले बैतडीको जिल्ला अधिवेशन यहि फागुन २८ र २९ गते पाटनमा हुँदै छ । सो अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्व चयन हुने छ ।
अहिले सम्म खुलेर कुनै पनि अकांक्षी नआएका र आइहालेपनि छलफल र संवाद गरेर सहमति सहितको सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास हुने उपसचिव भण्डारीले बताए । १९ गते प्रतिनिधि छनौट हुने र त्यसपछि देखिने आकांक्षीहरु विचमा छलफल हुने उनले बताए । अधिवेशनका लागि समिति उपसमिति गठन गरेर तयारी थालिएको समेत उनले बताए ।
पाटनमा हुने अधिवेशनलाई सभ्य र भव्य रुपले सम्मपन्न गर्ने गरि तयारी भैरहेको एमाले बैतडीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले बैतडीको शुक्रबार पुर्चौडीमा बसेको बैठकले १० औँ अधिवेशन पाटनमा गर्ने निर्णय गरेको थियो ।