बैतडी –शहीद दिवसको अवसर पारेर बैतडीको पाटन नगरपालिका १ मा प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । वडा नं १ को कार्यालयको आयोजनामा भएको सांस्कृतिक कार्यक्रममा वडाभरीका कक्षा १ देखि ८ सम्म पढाई ६ ओटा आधारभूत विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा कैलाश आधारभूत विद्यालय डङसिली प्रथम भएको छ । उसले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै जनता आधारभूत विद्यालय पोखरी दोश्रो भएको छ । उसले नगद ३ हजार र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै कालिका आधारभूत विद्यालय सकार तेश्रो भएको छ । उसले नगद २ हजार र प्रमाण पत्र प्राप्त गरेको वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए ।
यस्तै शहीद दिवसको अवसर पारेर सुर्नया गाउँपालिका वडा नं ६ मा निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिएको छ । शहीद शरद अवस्थी (लोकेश)को शालिकामा माल्यार्पण गरी सोही ठाउँमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिएको हो ।
दिप ज्योती बालक्लबको आयोजना तथा सुर्नया गाउँपालिका वडा नं ६ को कार्यालयको सहयोगमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिएको हो । उक्त प्रतियोगितामा उद्धव अवस्थी प्रथम भएका छ भने पुष्पा अवस्थी द्वितीय भएकी छन् । यस्तै निर्मला भट्टले तेश्रो स्थान प्राप्त गर्दा रोहित कुँवरले सान्त्वना स्थान प्राप्त गरेका छन् । उनीहरुलाई नगद पुरस्कार समेत वितरण गरिएको बालक्लब अध्यक्ष यज्ञराज धामीले बताए । उक्त कार्यक्रममा वडा अध्यक्ष मदनराज अवस्थी लगायतका अन्य सरोकारवालाहरुको समेत उपस्थिती रहेको थियो ।