Sagun Khabar
बैतडीमा १६ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै 

बैतडी –बैतडीमा बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम शुरु भएको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत बैतडीमा पनि बालबालिकाहरुलाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए । 

बैतडीमा १६ हजार ६ सय २८ जना बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य रहेको । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुलाई भिटामिन ए खुवाउने गरिएको छ । 

यस्तै १४ हजार ८ सय ९५ जना बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको छ । १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने गरिएको सूचना अधिकारी कार्कीले बताए । 

बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जिल्लाभरी ८ सय ३१ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरिएको छ । 

भिटामिन ए र जुकाको औषधि आज खुवाउन छुटेका बालबालिकाहरुका लागि भोलि पनि अभियान सञ्चालन रहने बताइएको छ । तोेकेको स्थानमा आफ्ना बालबालिकाहरुलाई लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ ।

बालबालिकाहरुको वृद्धि र विकासका लागि भिटामिन ‘ए’ र जुकाको औषधि महत्वपूर्ण भएकाले आफ्ना बालबालिकाहरुलाई तोकिएको स्थानमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन स्वास्थ्य कार्यालय बैतडीका प्रमुख सुदीप ओखेडाले आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update