बैतडी - बैतडी घर भएका देउडा गायक जेआर भट्टको नयाँ देउडा गीत बजारमा आएको छ । देउडा गायक जेआरले डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका भित्र रहेका ऐतिहासिक, धार्मीक तथा पर्यटकीय स्थलहरु समेटेर तयार पारेको ‘परशुराम धाम’ नामक देउडा गीत बजारमा आएको हो । गीत शनिवार राति उनकै यूटूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
गायक भानुभक्त जोशीको शब्द सिर्जनामा रहेको यो गीतमा गायक जेआर भट्ट र गायीका गौरी भट्टको आवाज रहेको छ । विग परिवेश स्टुडियोबाट जीवन बडुले एरेन्ज र मिक्सिङ गरेको यो गीतको भिडियोमा जेआरले निर्देशन गरेका हुन् । यस्तै पुष्प भट्टले छायाँकन र विष्णु खडकाले सम्पादन गरेको यो गीतमा जेआर र रोजी कुँवरको अभिनय रहेको छ ।
यो गीतले परशुराम धाम लगायत परशुराम नगरपालिका भित्र रहेका ऐतिहासिक, धार्मीक तथा पर्यटीय क्षेत्रहरुको प्रचार प्रसारमा भूमीका खेल्ने अपेक्षा गरिएको छ । सुदूरपश्चिमको देउडा संस्कृतिको जर्गेना गर्ने उदेश्यले देउडा गायक जेआर दर्शक स्रोता माझ एक पछि अर्काे प्रस्तुति पस्कि रहेका छन् ।
कलाकार जेआर देउडाको माध्यमबाट सुदूरको भाषा, कला, संस्कृति र यहाँका पर्यटीय स्थलहरुलाई विश्वसामु चिनाउन लागि परेका हुन् । प्रत्यक्ष देउडा खेलबाट भाइरल भएका जेआर अहिले सबैको लोकप्रिय कलाकार बनेका छन् । गायक जेआरले यसअघि ल्याएको ‘मेरी इजु’को पहिलो भर्सन पनि धेरैले रुचाएका थिए । गीत हेर्न यो लिंकमा https://www.youtube.com/watch?v=PZNDE3yvX0s थिच्नुहोस् ।