बैतडी –बैतडीमा एक बर्षको अवधिमा ११ जना एचआइभी संक्रमित थपिएका छन् । सन् २०२३ मा ११ जनामा एचआइभी संक्रमण पुष्टि भएको एचआइभीको क्षेत्रमा काम गरिरहेको संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्रप्रसाद पन्तले बताए ।
बहुउद्देश्यीय विकास समाज डडेल्धुराले एचआइभी रोकथाम कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको परीक्षण शिविरबाट ८ जना र जिल्ला अस्पताल बैतडीमा गरिएको परीक्षणबाट तीनजनामा एचआइभी संक्रमण पुष्टि भएको पन्तले बताए ।
जिल्लाभरी एक बर्षको अवधिमा १४ हजार ६ सय जनाको रगत परीक्षण गरिएकोमा ११ जनामा एचआइभी देखिएको हो ।
जिल्लाभरी अहिले १२७ जना एचआइभी संक्रमित रहेका छन् । उनीहरुमध्ये एक सय एक जनाले जिल्ला अस्पतालको एआरटी सेन्टरबाट औषधि उपचार गराइरहेका छन् भने २६ जनाले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको एआरटी सेन्टरबाट औषधि सेवन गरिरहेका छन् ।
एचआइभी संक्रमितहरुलाई निशुल्क रुपमा औषधि दिने गरिएको छ । यस्तै संक्रमितहरुको सहजताका लागि बहुउद्देश्यीय विकास समाज डडेल्धुराले यातायात खर्च उपलब्ध गराउँदै आएको छ भने बैतडी प्लसले खाने र बस्ने खर्चको व्यवस्थापन गरिरहेको छ । औषधि उपचारका लागि स्वास्थ्य संस्थामा पुग्नका लागि आवश्यक यातायात खर्च उपलब्ध गराउने गरेको उनले बताए ।
एचआइभी संक्रमितहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक भएकाले अझै पनि उनीहरु खुलेर बाहिर आउन नसकेका पन्तले बताए ।