Sagun Khabar
भीटाको भीरमा जोखिमपूर्ण आवतजावत 

बैतडी –बैतडीको पाटन नगरपालिका–६ र वडा नं ३ गुजर जोड्ने भीटा भीरको बाटो जीर्ण हुँदै गएको छ । भीटाको भीरमा बनाइएको बाटो पछिल्लो समयमा जीर्ण हुँदै गएपछि दुर्घटनाको जोखिम बढ्दै गएको हो । 

पाटनबाट गुजर, सुर्नया लगायतका ठाउँमा जान पैदलमार्गको रुपमा यो बाटो प्रयोग हुँदै आएको छ भने सुर्नया, गुजर लगायतका ठाउँबाट पाटन पुग्न पनि यहीँ बाटोको प्रयोग गर्ने गरिन्छ । 

Atrya hospital

तलतिर सुर्नया नदी र माथि भीटा भीरको बीचमा रहेको बाटोबाटै आवतजावत गर्ने गरिएको छ । बाटो साँघुरो हुँदा दुर्घटनाको जोखिम रहेको पाटन नगरपालिका ३ का कृष्णदत्त पन्तले बताए । 

यही बाटो भएर विद्यार्थीहरु विद्यालय पुग्ने गरेका छन् भने स्थानीयहरुको घाँस, दाउरा लैजाने बाटो समेत यो नै हो । तर बाटोको ठाउँ–ठाउँमा जोखिमपूर्ण अवस्था रहेको पन्तले बताए । 

निकै साँघुरो बाटोलाई तत्कालिन पाटन गाविसले मर्मतसम्भार गरेको भएपनि पछिल्लो समयमा बाटो मर्मत नहुँदा आवतजावतमा समस्या भएको छ । पाटन नगरपालिकाले समेत उक्त बाटो मर्मतमा ध्यान नदिएको स्थानीयहरुको गुनासो रही आएको छ । 

बजेटको अभावमा बाटो मर्मतको काम हुन नसकेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । 

पाटन बजार जोड्ने मुख्य बाटोको रुपमा भीटा बाटो रहेको भएपनि बाटो जीर्ण भएपछि स्थानीयहरुलाई निकै समस्या भएको छ । पहिला पहिला गुजरबाट पत्थर समेत सोही बाटो भएर बजार पुर्याउने गरिएको थियो । पछिल्लो समयमा भने सिलेट अर्थात पत्थरको विक्रि वितरण रोकिएको स्थानीयहरुले बताएका छन् । 
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update