Sagun Khabar
आधुनिक कृषि उपकरणको प्रयोग बढ्दै,किसानले हल गोरु पाल्न छोडे 

बैतडी –पछिल्लो समयमा बैतडीमा किसानहरुले हल गोरु पाल्न छोडेका छन् । खेतबारी जोत्नका लागि प्रत्येक घरमा एक हल गोरु पाल्ने चलन रहेको भएपनि पछिल्लो समयमा आधुनिक कृषि उपकरणको प्रयोगसंगै त्यो चलन हटेको छ । 

खेतीको समयमा मिनि टिलर, ट्याक्टर जस्ता आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएको सुर्नया गाउँपालिका ६ का पदम अवस्थीले बताए । धेरै जसोको घरमा आजभोली गोरु नभएको उनले बताए । समथर किसिमको जमीन ट्याक्टर र केही भिरालो किसिमको जमीनमा मिनि टिलरको प्रयोग गरेर खेत जोत्ने गरिएको उनले बताए । 

Atrya hospital

बर्षभरी गोरु पालेर खेतबारी जोत्ने समयमा मात्रै काम लाग्ने भएकाले गोरु पाल्नुभन्दा आधुनिक कृषि औजारबाट खेतबारीको काम गर्न सजिलो भएको डिलाशैनीका स्थानीय विरेन्द्र बोहराले बताए । उनले भने ‘समान्य खर्चमै कृषि औजारहरुको प्रयोग गरेर खेतबारी जोत्न सकिन्छ । गोरु पाल्ने झण्झट भन्दा कृषि औजारको प्रयोग सहज हुने गर्दछ ।’

पछिल्लो समयमा गाउँगाउँमा मिनिटिलरले खेत जोत्ने गरिएको दशरथचन्द नगरपालिका ९ का स्थानीय विरेन्द्र ओझाले बताए । खेतीपातीको समयमा गोरु जोत्ने गरेकोमा अहिले मिनिटिलरले खेत जोत्ने गरेको उनले बताए । उनले भने ‘अहिले गाउँमा गोरु पाल्ने चलन लगभग हटिसकेको छ । धेरैजसोसंग खेत जोत्नका लागि मिनिटिलर छ । मिनि टिलरले खेत जोत्ने चलन बसीसकेको छ ।’

आधुनिक कृषि औजारहरुले किसानहरुको कार्यबोझ समेत घटाएकाले यसमा किसानहरुको आकर्षण बढ्दै गएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । कृषि औजारहरुले किसानहरुलाई सजिलो भएकाले यसको प्रयोग बढ्दै गएको उनले बताए । उनले भने ‘खेत जोत्नका लागि अहिले मिनिटिलरको व्यापक प्रयोग हुन थालेको छ । कृषि यन्त्रहरुमा किसानहरुको आकर्षण बढेको छ । यसले किसानहरुको कार्यबोझ समेत घटाएको छ ।’

कृषि औजार तथा उपकरण खरीदमा स्थानीय सरकारहरुले समेत अनुदान दिँदै आएका सुर्नया गाउँपालिकाका कृषि शाखा प्रमुख नरेश बिष्टले बताए । आधुनिक कृषि उपकरणको प्रयोगले किसानहरुलाई सहज भएको उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update