Sagun Khabar
बैतडीका किसानहरुलाई गहुँ छर्ने चटारो 

बैतडी –बैतडी जस्ता मध्य पहाडी क्षेत्रमा किसानहरु गहुँ छर्ने कार्यमा व्यस्त रहेका छन् । लेकाली क्षेत्रमा किसानहरुले लगभग गहुँ छरिसकेका छन् भने बेँसी क्षेत्रमा मंसिर दोश्रो साता सम्म गहुँ छर्ने गरिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । 

खेतलाई खनजोत गरेर गहुँ छर्ने तयारी भइरहेको दशरथचन्द नगरपालिका १ का अगुवा किसान कृष्णदत्त भट्टले जानकारी दिए । सिँचाइको सुविधा नभएका ठाउँमा गहुँ छर्ने कार्य भइरहेको उनले बताए । उनले भने ‘चिसो ठाउँमा कार्तिक पहिलो सातादेखि नै गहुँ छर्ने कार्य शुरु भएको छ । किसानहरु अहिले गहुँ छर्ने कार्यमा व्यस्त रहेका छन् ।’

Atrya hospital

लेकाली क्षेत्रमा पछि चिसो बढ्ने भएकाले कार्तिक पहिलो सातादेखि नै गहुँ छर्ने गरिएको सुर्नया ६ का केशव अवस्थीले बताए । कार्तिक पहिलो सातादेखि नै गहुँ छर्ने कार्य शुरु भएको र लेकाली क्षेत्रमा लगभग गहुँ छर्ने कार्य सकिन लागेको उनले बताए । 

गहुँ छर्दा पहिला खेतलाई खनजोत गरेर गोबरमल हालेर छर्नुपर्ने पाटन नगरपालिकाका कृषि शाखा प्रमुख अवस्थीले सुझाव दिएका छन् । कतिपय ठाउँमा गहुँ छरेपछि मात्रै गोबरमल हाल्ने चलन रहेकाले त्यो गहुँका लागि उपयुक्त नभएको उनले बताए । गोबरमललाई माटोमा मिसाएपछि गहुँ छर्न उपयुक्त हुने अवस्थीले बताए । गहुँ छरेपछि गोबरमल हालेमा त्यसमा भएको तत्व नष्ट हुने भएकाले गहुँ छर्नुभन्दा पहिला गोबर मल हाल्नुपर्ने उनले बताए । 

गहुँको उत्पादन बढाउनका लागि उन्नत जातको गहुँको बीउ प्रयोग गर्नुपर्नेमा कृषि प्राविधिकहरुले जोड दिएका छन् । बैतडीमा झण्डै १ हजार ८ सय हेक्टर क्षेत्रफल जमीनमा गहुँ खेती गरिने भएपनि आधाभन्दा बढी क्षेत्रमा सिँचाइको अभाव रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update