Sagun Khabar
बैतडीबाट निर्वाचित प्रदेश सांसद भन्छन् –‘लेन्थवर्करका माग पूरा हुनुपर्छ’ 

बैतडी –अनसनमा बसेका बैतडीका लेन्थवर्करहरुको माग प्रदेश सरकारले पूरा गर्नुपर्ने बैतडीबाट निर्वाचित प्रदेश सांसदहरुले बताएका छन् । पारिश्रमिक पाउनुपर्ने भन्दै लेन्थवर्करहरुले गरेको आन्दोलनमा आफ्नो समर्थन रहेको प्रदेश सांसद लिलाधर भट्टले बताए  । आफूहरुले पटक पटक सरकारलाई यो बिषयमा जानकारी गराएको भएपनि सरकारले चासो नदिएको उनले बताए । उनले भने ‘ मैले सडकमा काम गरिरहेका लेन्थवर्करका बिषयमा सरकारको ध्यानाकर्षण गराएको छु । तर सरकारले चासो दिएको छैन् ।’ 

संघीय सरकारबाट सडक हस्तान्तरण हुने बेलामा जनशक्ति पनि हस्तान्तरण हुने भएकाले लेन्थवर्कर छैन भन्नु गलत भएको सांसद भट्टको भनाई छ । उनले भने ‘लेन्थवर्करहरु लामो समयदेखि सडकमा काम गर्दै आईरहेका छन् । उनीहरुका समस्या प्रदेश सरकारले समाधान गर्नुपर्छ ।’

Atrya hospital

लेन्थवर्करहरुले उठाएका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ भनेर आफूले आफ्नो तर्फबाट दबाब दिईरहेको उनले बताए 
यस्तै बैतडी क्षेत्र नं. (क) बाट निर्वाचित प्रदेश सांसद प्रेमप्रकाश भट्ट (आदित्य)ले लेन्थवर्करहरुका माग पूरा गराउन आफूले सम्बन्धित मन्त्रीलाई जानकारी गराएको बताए । उनले भने ‘मैले मन्त्रीज्युसंग पनि यो बिषयमा कुराकानी गरेको छु । लेन्थवर्करका समस्याका बिषयमा मुख्यमन्त्रीज्यु संग पनि कुराकानी गरेको छु । उनीहरुको कसरी व्यवस्थापन गर्नुपर्छ । त्यो बिषयमा छलफल गरिरहेका छौं ।’

लेन्थवर्करका समस्याका बिषयमा आफू प्रदेशसभामा बोलेको स्मरण गर्दै भट्टले उनीहरुका माग पूरा गराउन सक्दो पहल गर्ने बताए  । उनले भने ‘लेन्थवर्करहरुले उठाउँदै आएको पारिश्रमिक बिषयमा हामी छलफल मै छौं । पूर्वाधार विकास कार्यालयसंग पनि यो बिषयमा छलफल गरिरहेका छौं । कानुनी रुपले केही समस्याहरु आएका छन् । यसलाई कसरी समाधान गर्न सकिन्छ, हामी लागिरहेका छौं ।’

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update