Sagun Khabar
पार्टी एक ढिक्का नहुँदा सम्म वडा अधिवेशन सहभागी नहुन कांग्रेस बैतडीका पूर्वसभापतिहरुको आग्रह 

बैतडी–नेपाली कांग्रेस बैतडीका पूर्वसभापतिहरूले पार्टी एकढिक्का नहुँदासम्म वडा अधिवेशनलगायतका गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन् ।

बैतडीका चार पूर्वसभापतिहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर पार्टी एकढिक्का नहुँदासम्म वडा अधिवेशनलगायतका गतिविधिमा सहभागी नहुन आग्रह गरेका हुन् । 

विज्ञप्ति जारी गर्नेमा पूर्वसभापतिहरू नरेन्द्रबहादुर  बम, नरेन्द्रसिंह बिष्ट, शिवराज भट्ट र नरबहादुर चन्द रहेका छन् । उनीहरूले पार्टीलाई एकता, सहमति र लोकतान्त्रिक विधिबाट बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

केन्द्रीय कार्यसमितिको निर्णय बिना सम्पन्न भएको विशेष महाधिवेशन र त्यसबाट अघि बढाइएका गतिविधिले पार्टीभित्र विभाजनको बिजारोपण गरेको पूर्वसभापतिहरूको ठहर छ । ‘पार्टीभित्रको विद्यमान विवादका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा समेत एकतर्फी रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी गतिविधि अघि बढाउने कार्यले पार्टीलाई एकताबद्ध देख्न चाहने आम नेता–कार्यकर्ताको भावना र विश्वासमाथि गम्भीर आघात पुगेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको रक्षा तथा पार्टीको सुदृढ भविष्यका लागि कांग्रेसको सम्पूर्ण एकता अपरिहार्य रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

Nc-Purbasavapati-1789369643.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १२:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update