बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाका हाकिम भुजेलको सरुवा भएको छ । नगरपालिकामा कार्यरत हाकिम हरिबहादुर भुजेलको बागलुङको जयमिनि नगरपालिका सरुवा भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत भुजेलको तीन महिनामै सरुवा भएको छ । पोखराको रुपा गाउँपालिका घरभएका भुजेल जेठ १२ गते दशरथचन्द नगरपालिकामा हाकिमको रुपमा हाजिर भएका थिए । सरुवा भएर गएका भुजेलको नगरपालिकाले बिदाई गरेको छ ।
आइतबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर उनको बिदाई गरिएको नगरपालिकाका सूचना अधिकारी राज बहादुर विष्टले बताए । नगरपालिकाले उनलाई फोलो (पानी राख्ने तामाको गाग्री ) दिएर पठाएको छ । मायाको चिनो स्वरुप तामाबाट निर्मित पानी भर्ने गाग्री दिएर पठाएको सूचना अधिकारी विष्टले बताए ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले उपसचिव भुजेललाई दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो । दशरथचन्द नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्द अनिवार्य अवकाशमा परेपछि नगरपालिका हाकिम विहिन बनेको थियो । फेरी अहिलेका हाकिमको पनि सरुवा भएपछि नगरपालिका हाकिम विहिन भएको छ ।