बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले गाउँटोलमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ । बैंकबाट टाढा रहेका जेष्ठ नागरिकहरुका समस्यालाई ध्यानमा राखेर गाउँटोलमै सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख लोकराज जोशीले बताए ।
बैंकबाट टाढा रहेका जेष्ठ नागरिकहरुलाई बैंक पुग्न समस्या हुने भएकाले सम्बन्धित वडा र गाउँ टोलमै सामाजिक सुरक्षा भत्ता वितरणको काम भइरहेको उनले बताए । कुनै ठाउँमा वडा कार्यालय, कुनै ठाउँमा टोलमै पुगेर भएपनि भत्ता वितरणको काम भइरहेको उनले बताए । उनले भने ‘बैंकबाट टाढा रहेका जेष्ठ नागरिकलाई लक्षित गरेर हामीले गाउँ टोलमै भत्ता वितरण गरिरहेका छौं । यसबाट नागरिकलाई सहज हुने विश्वास रहेको छ ।’
कुमारी बैंकसँगको सहकार्यमा भुक्तानी शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण काम भइरहेको जोशीले बताए । सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुको सहजताका लागि भुक्तानी शिविर सञ्चालन गरिएको जोशीले बताए । गाउँपालिकाका ८ ओटै वडा र केही टोलमा समेत शिविर सञ्चालन भइरहेको उनले बताए ।
गाउँटोलमै सामाजिक सुरक्षाभत्ता पाएपछि नागरिक पनि खुसी भएका छन् । बैंकमा जाँदा लाइन लाग्नुपर्ने र त्यसका लागि दिनभर कुर्नुपर्ने अवस्था रहेको थियो । पालिकाले वडाबाटै सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने व्यवस्था गरेकाले सजिलो भएको लाभग्राहीहरुको भनाइ छ ।
बैंकबाट टाढा रहेका नागरिकलाई सहज होस भनेर घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।





