बैतडी –भदौ ७ गते गौरा नमनाएका ठाउँहरुमा अहिले गौरा पर्वको रौनक चलिरहेको छ । भाद्र शुक्ल वा कृष्ण पक्षमा मात्रै गौरा पर्व हुने भन्दै कतिपय ठाउँमा हिजोदेखि गौरा पर्व शुरु भएको छ । कतिपय ठाउँमा भदौ ७ गते गौरा पर्व मनाइसकिएको छ ।
गौरा मनाइरहेका ठाउँमा गौरा अन्तर्गत दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ । ब्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रही आएको छ ।आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रही आएको छ । साउँ,तिल,अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ती बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा लगेर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ ।
बिरुडापञ्चमीका दिन भिजाएका बिरुडालाई आज नजिकका धारा,तलाउमा लगेर धुने चलन रही आएको छ । बिरुडाले नै गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको सुर्नया गाउँपालिका ६ का हरिना अवस्थीले बताइन् । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ । उनले भनिन् ‘आज दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझ पख मिठोमसिनो खाने चलन रही आएको छ । बिरुडा र फलफूल सहित ब्रतालु महिलाहरुले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्ने गरेका छन् ।’
पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । उनले भने ‘गौरापर्व यो क्षेत्रको ठूलो पर्व हो । गौरादेवीको प्रसाद ग्रहणका लागि घरबाहिर रहेकाहरु समेत घरमा आउने गरेका छन् ।’
दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो । भोली सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । भोली नै महिलाहरुले धारणा गर्ने बिशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन गौराष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रही आएको छ ।
तागाधारी पुरुषहरुले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् ।
शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही आएको छ ।
गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी,चैत लगायत देउडा समेत खेलेर रमाइलो गर्ने गरिन्छ ।
यो बर्ष अगस्ती उदयका बिषयमा ज्योतिषहरुबीच विवाद भएपछि दुई गौरा भएका छन् । अगस्ती उदयको दोष लाग्ने भन्दै कतिपय ठाउँमा भदौ ७ गते श्रावण शुक्ल पक्षमा नै गौरा मनाइसकिएको छ । तर गौरा भाद्र कृष्ण वा शुक्ल पक्षमा मात्रै पर्ने मत राख्दै आएका ज्योतिषहरुको तर्क र स्थानीय परम्परा अनुसार गौरा एकादशी र जनैपूर्णिमा पछि मात्रै गौरा मनाउनुपर्ने भन्दै कतिपय ठाउँमा हिजोदेखि मात्रै गौरा पर्व शुरु भएको छ ।