
बैतडी–बैतडीको पञ्चेश्वरमा औलो रोग सर्न नदिनका लागि बिषादी छर्ने अभियान सञ्चालन गरिएको छ ।
पञ्चेश्वर गाउँपालिकाको वडा नं १ का झण्डै १ सय ५० घरधुरीमा बिषादी छरिएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निनिसियन निरीक्षक जयसिंह बडालले बताए । पञ्चेश्वरको वडा नं १ का दुई जनामा गत बर्ष औलो रोग देखिएकाले त्यो क्षेत्रमा बिषादी छर्ने कार्य गरिएको उनले बताए । दुईजनामा स्थानीय औलो देखिएकाले लामखुट्टेको लार्भा नष्ट गर्न बिषादी छरिएको हो ।
औलो लामखुट्टेको टोकाइबाट लाग्ने रोग भएकाले लामखुट्टे विस्तार हुन नदिन बिषादी छर्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए ।
बैतडीमा गत बर्ष ६ जनामा औलो देखिएको थियो । ६ जनामध्ये पञ्चेश्वरका दुई जना र मेलौलीका दुई जनामा स्थानीय औलो देखिएको थियो । मेलौलीमा पनि तिहारपछि बिषादी छर्ने अभियान सञ्चालन हुने ल्याब टेक्निसियन निरीक्षक बडालले बताए ।
औलो रोगबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।