Sagun Khabar
दार्चुलाकी ८३ बर्षीया भागरथी चन्दको हत्यामा संलग्न दुईजना प्रहरीद्वारा सार्वजनिक 

दार्चुला –दार्चुलाकी ८३ बर्षीया वृद्धा भागरथी चन्दको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । भदौ ८ गते राति मालिकार्जुन गाउँपालिका– ७ की ८३ वर्षीया भागरथी चन्दको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो । 

आइतबार दार्चुला प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेर चन्दको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनका नाती सहित दुईजनालाई सार्वजनिक गरेको हो । चन्दको हत्या आरोपमा उनका नाती मालिकार्जुन ७ का २१ वर्षीय दिपक चन्द र जिल्लाको दुहुँ गाउँपालिका ३ का १८ बर्षीय आशिष बमलाई प्रहरीले सार्वजनिक गरेको छ ।

Atrya hospital

भदौ ८ गते घरमा एक्लै रहेका बृद्ध एकल महिला चन्दलाई दुवै जनाले धारिलो हतियार हसियाँ, कैची र चक्कुले प्रहार गरी हत्या गरेको आरोपितहरुले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी तर्कराज पाण्डेले बताए । बृद्ध महिलाको घरमा पुगेर उनीहरुले घाँटी, छाती, पेटमा हतियार प्रहार गरेको पाइएको उनले बताए । 

चन्दको हत्या गरी उनीहरुले १०० का अमरेकी डलर नोट पाँच, तथा १००० को कोरियन नोट १ र ४० हजार रुपैयाँ लुटेको पाइएको छ ।

यस्तै वृद्धाले लगाएको सुनको गहना लुटेर ९० हजारमा विक्रि गरेको पाइएको पनि प्रहरीले जनाएको छ । भदौ ८ गते हत्या गरिएकी चन्दको शव घरभन्दा तीन सय मिटर पर भीरालो जमिनमा फाली ढाकेको अवस्थामा भाद्र ११ गते मात्रै फेला परेको थियो । 

हत्या लगत्तै फराररहेका दुवै जनालाई प्रहरीले भदौ १२ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्क नजिकबाट पक्राउ गरेको डिएसपी पाण्डले बताए । 

सदरमुकाम खलंगामा बस्दै आएका दुवैजना हत्या लगत्तै भदौ ९ गते भारतको धारचुला गएको प्रहरीले जनाएको छ ।
उनीहरुले भदौ १० गते सदरमुकाम खलंगामा सुन बिक्री गरेका थिए । दुवै जना भारतको बाटो हुँदै महेन्द्रनगर पुगेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । 

उनीहरु दुवै जनामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update