Sagun Khabar
महिला टी–२० एसिया क्षेत्र छनोटमा नेपालको लगातार तेश्रो जित, भुटान तीन विकेटले पराजित 

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले हराएको छ । लगातार तेस्रो जितकासाथ नेपाल समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । जितको लागि नेपालले ४० रनको लक्ष्य पाएको थियो । यो लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाउँदै भेट्टायो ।

नेपालका कप्तान रुविना क्षेत्री १२ रनमा अविजित रहिन् । कविता जोशी ९ रनमा आउट भइन् । सीता रानामगरले ८ तथा पूजा महतोले बलमा ३ रन जोडिन् । भुटानकी अन्जुली घलेले ३ तथा क्षिरिङ जांग्मोले २ विकेट लिइन् । त्यसअघि मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनाएको थियो ।

भुटानका कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउनुबाहेक अरुले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।नेपालका पूजा महतोले ३ तथा कविता कुँवर, खुसी डङ्गोल र कप्तान रुविना क्षेत्रीले समान एक÷एक विकेट लिए । नेपालले यसअघि घरेलु टोली मलेसियालाई ५ रन र बहराइनलाई १० विकेटले हराएको थियो ।

Atrya hospital

नेपालले भोलि कतारसँग र समूह चरणको अन्तिम खेलमा १९ गते यूएईसँग खेल्नेछ । प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update