Sagun Khabar
बैतडीका कलौनी ९ दिनदेखि अचेत, हत्या प्रयास भएको आफन्तको आरोप 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ५ गिरेगडाका ३२ बर्षीय गणेशदत्त कलौनीको गएको असार १३ गतेदेखि अझै होसमा आएका छैनन् । असार १३ गतेदेखि मायामेट्रो अस्पतालमा उपचार गराईरहेका कलौनी सोमबार सम्म अचेत अवस्थामै रहेका उनका दाजु नरेन्द्र कलौनीले बताए । 

असार १३ गते घरबाट बाख्रा चराउन निस्केकका कलौनी लामो समय सम्म घर नफर्केपछि खोजी गर्दै जाँदा सडकमा घाइते अवस्थामा भेटिए । उनको टाउको र आँखामा गहिरो चोट लागेको छ । ‘भाई भीरबाट लडेको छ भनेर एकजनाले खबर ल्याए । हामी सबै गयौं । भीरबाट लडेको भए शरीरका अरु ठाउँमा पनि चोट हुनुपर्ने हो ।’गणेशका दाजु नन्दराज कलौनीले भने, ‘जुन मान्छेले लडेको छ भनेर खबर ल्यायो । त्यही मान्छेसंग हाम्रो आशंका रहेको छ ।’

मायामेट्रो अस्पातलमा उपचार गराईरहेका कलौनीको उपचारमा अहिले ५ लाख बढी खर्च भईसकेको उनका आफन्त दिल्लीराज भट्टले बताए । उनले भने ‘दाजुलाई अहिले सम्म होस आएका छैन् । अप्रेशन भएको छ । ५ लाख बढी खर्च भईसक्यो ।’

Atrya hospital

गणेशदत्त कलौनीमाथि कुटपीट भएको परिवारका सदस्यहरुले दाबी गरेका छन् । उनीहरुले स्थानीय प्रेम चन्दले कुटपीट गरेको आरोप लगाएका छन् । ‘प्रेम चन्दले पुरानो रिसीबीका कारण मेरो भाईमाथि कुटपीट गरेको हो । लडेको भए अन्य ठाउँमा पनि चोट लाग्नुपर्ने हो ।’घाइतेका दाजु नन्दराज कलौनीले भने 

के हो पुरानो रिसीबी ? को हुन प्रेम चन्द ? 

पञ्चेश्वर गाउँपालिका वडा नं ५ गिरेगडाका प्रेम चन्दको केही महिना पहिला खसी हरायो । जंगलबाटै खसी हराएपछि स्थानीय गणेश कलौनीलाई (जो अहिले उपचाररत छन्) चोरीको आरोप लगाइयो । 

गिरेगडा प्रहरीचौकीमा गणेशले खसी चोरेको प्रमाणित भएमा खसी वा पैसा दिने भन्ने खालको कागज समेत बनाइएको घाइतेका दाजु नन्दराज कलौनीले बताए । तर उनले खसी चोरेको कुनै प्रमाण अहिले सम्म फेला नपरेको उनले बताए । 

त्यही बेलादेखि प्रेम चन्दले गणेश कलौनीलाई कुटपीट गर्ने धम्की दिँदै आएका थिए । असार १३ गते चन्दले नै गणेशमाथि कुटपीट गरेको कलौनी परिवारको आशंका छ । 

गणेशका परिवारले प्रेम चन्दका नाममा किटानी जाहेरी दिएपछि अहिले चन्द प्रहरी हिरासतमा छन् । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर चन्दमाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १३:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update