दार्चुला –दार्चुलाको अपिहिमाल गाउँपालिकामा तीन दिन सार्वजनिक विदा दिएको छ। आज (सोमवार)देखि आउँदो बुधवारसम्म पालिकाभरीका सरकारी तथा गैरसरकारी कार्यालय लगायत शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको हो ।
पालिकाले एक सूचना निकालेर गाउँपालिकाको प्रख्यात धार्मिक सुर्मा भवानी मन्दिरमा भइरहेको बिरे जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । देशकै सबैभन्दा लामो समयसम्म मनाइने सुर्मा भवानीको जात्रा शनिवारदेखि विधिवत रुपमा शुरु भएको छ । दार्चुला र बझाङ जिल्लाको सीमा क्षेत्रमा यो जात्रा लाग्ने गरेको छ ।
बझाङका सिकारीले लखेट्दा सुर्मा भवानी सुर्मा तालमा बिलय भएको मान्यता रहिआएको छ । सुर्मा तालमा अपि हिमालको खण्डेश्वरीबाट जाने तीर्थालुहरूले पूजा गरेपछि मात्रै बझाङबाट आउने तीर्थालुहरूले पूजा गर्ने चलन रहेको स्थानीय कमलसिंह धामीले बताए ।
सुर्मा सरोवर तीर्थ जाने व्रतालु भक्तहरूलाई बिरे भनिन्छ । बिरे दुई प्रकारका हुन्छन् । पहिलो पटक सुर्मा सरोवर तीर्थ जानेलाई बालो बिरे र पटक–पटक गएकालाई बुढो बिरे भन्ने चलन रही आएको छ ।