Sagun Khabar
बैतडी जिप दुर्घटना : घाइतेलाई अस्पताल पठाइयो 

बैतडी – बैतडीको सिगास गाउँपालिका ३ लगन भन्ने स्थानमा आइतबार बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका ११ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनास्थल निकै टाढा भएकाले ढिलो गरी घाइतेलाई बोक्नका लागि गाडी पुगेको थियो । अहिले घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

आइतबार बिहान करीब पौने १० बजेतिर सिगास गाउँपालिका ३ लगन भन्ने स्थानमा डडेल्धुरा तर्फ गईरहेको से १ ज ७३९ नम्बरको जिप दुर्घटनामा परेको हो । 

Atrya hospital

दुर्घटनामा परी गम्भीर घाइते भएका सिगास गाउँपालिका ३ का १८ बर्षीय योगेन्द्र धामी, १३ बर्षीय लक्ष्मण बोहरा र ४० बर्षीया गोमती साउँदलाई डडेल्धुरा अस्पताल पठाइएको छ । 

यस्तै सिगास गाउँपालिका ३ कै २९ बर्षीय करनसिंह धामी, ४५ बर्षीय दलबीर साउँद, ४० बर्षीय चक्र धामी, ३८ बर्षीय वासमती धामी, २० बर्षीया राजेन्द्र धामी, ४७ बर्षीय कृष्ण धामी, ४० बर्षीय शेरबहादुर धामी र २० बर्षीय रविन्द्र धामी पनि घाइते रहेका र उनीहरुलाई पनि अस्पताल पठाइएको प्रहरी निरीक्षक खड्काले बताए । 

जिप चालक १९ बर्षीय खगेन्द्र साउँद र जिप साहु ४४ बर्षीय हरिभान साउँद भने फरार रहेका प्रहरीले जनाएको छ । 
दुर्घटनामा परी सिगास गाउँपालिका ३ का ४५ बर्षीय जयसिंह धामी, ४५ बर्षीय मानसिंह साउँद र ६४ बर्षीय रामसिंह धामीको घटनास्थलमै मृत्यु भएको थियो । 

जिपमा १६ जना सवार रहेका बताइएको छ । जिप सडकबाट करीब ५० मिटर तल खसेको जनाइएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १४:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update