Sagun Khabar
पाटन–पञ्चेश्वर सडकका लेन्थवर्कर भन्छन् –‘सडकमै मर्छौं, सरकार गरिबका लागि छैन्’

बैतडी – २१ महिनादेखि तलब नपाएपछि बैतडीको पाटन–पञ्चेश्वर सडकमा काम गर्ने लेन्थवर्कर गएको शुक्रबारदेखि अनसनमा बसीरहेका छन् । आफूहरुले पारिश्रमिक पाउनुपर्ने भन्दै उनीहरु अनसनमा बसेका हुन् । गएको १० बर्षदेखि पाटन –पञ्चेश्वर सडकमा काम गर्दै आएका लेन्थवर्करहरुले २०७६ साल असोजदेखि तलब पाएका छैनन् । 

पाटन–पञ्चेश्वर सडक प्रदेश सरकार मातहत गएपछि उनीहरु विचल्लीमा परेका हुन् । सांसददेखि मन्त्री सम्मले लेन्थवर्करहरुलाई तलब दिने आश्वासन दिए । तर उनीहरुले आफूले दिएका आश्वासन अहिले सम्म पूरा गरेका छैनन् । मजदुरहरुले सडकमा पसीना चुहाईरहे तर शासकका आँखाले उनीहरुका पसिनालाई देखेन् । 

Atrya hospital

प्रदेश सरकारका तत्कालिन भौतिक पूर्वाधार मन्त्रीले पाटनमै आएर लेन्थवर्करहरुलाई काम गर्नोस समस्या समाधान हुन्छ भनेका थिए । बैतडीबाट निर्वाचित विघटित प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीले पनि लेन्थवर्करहरुको समस्या समाधान गर्ने आश्वासन दिए । तर ती सबैका आश्वासन अहिले सम्म आश्वासनमै सीमित रहेका छन् । 

सडकमा काम गर्ने मजदुरहरु अहिले आफ्नो पारिश्रमिकका लागि सडकमै अनसनमा बसेका छन् । लामो समयदेखि सडकमा काम गर्दै आएको र अहिले प्रदेश सरकारले आफूहरुको रोजीरोटी खोस्ने जाल रचेको लेन्थवर्कर जयराम भुलले बताए । उनले भने ‘हामीलाई सडक डिभिजन कार्यालयबाट बुझ्ने बेलामै अवकाश दिनुपथ्र्यो । हामीलाई शुरुमा काम गर्नोस भनियो । त्यसपछि लखट्ने प्रयास भयो । हामी प्राण गएपनि माग पूरा नभए सम्म अनसन छोड्दैनौं ।’

सडकमै काम गर्ने सरस्वती साउँद अहिले दुधे बालक घरमै छोडेर अनसनमा बसेकी छिन् । आफ्नो पारिश्रमिक नपाएपछि उनी अनसनमा बस्न सडकमा पुगेकी हुन् । उनले भनिन् ‘हाम्रो जमीन भनेको पनि सडक नै हो । हामीले १० बर्ष सम्म काम गरेको ठाउँ । अहिले हामीलाई पारिश्रमिक नदिएर निकाल्न खोजिँदैछ । हामी सडकमै प्राण त्याग्छौं । हाम्रो माग पूरा नहुँदा सम्म जाँदैनौं ।’

सरस्वतीले अगाडि थपिन् ‘बालबच्चा कसरी पाल्ने हो । घरमा कोही छैनन् । श्रीमान जाँड खाएर हल्लिरहन्छन् । हामीले कसरी घरपरिवार धान्ने हो ।’

पाटन–पञ्चेश्वर सडकमै काम गर्ने लेन्थवर्कर लक्ष्मी पन्तले आफूहरुले सडकमा काम गरेको पारिश्रमिक नपाएको सुनाईन् । उनले भनिन् ‘हामीले न्याय नपाउँदा अनसनमा बसेका हौं । हामीलाई अनसनमा समेत बस्न पाइदैन भनेर धम्क्याइयो । यो कस्तो सरकार हो ? हामी मजदुरको पीडा बोध नहुने सरकार के चाहिन्छ ?’

सडकमा काम गर्ने लेन्थवर्करको समस्या समाधान गर्नका लागि आफूले दुई पटक प्रदेश सरकारलाई पत्र पठाएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए । उनले भने ‘हामीले लेन्थवर्करका समस्या समाधान गर्न प्रदेश सरकारसंग आग्रह गरिसकेका छौं । स्थानीयस्तरमा हामीले गर्न सक्ने सहयोग हामी गरिरहेका छौं ।  
 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update