Sagun Khabar
दशरथचन्द नगरपालिकामा सञ्चालित योजनाहरुको संयुक्त अनुगमन 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाका विभिन्न स्थानमा चालु आर्थिक बर्षमा सञ्चालन भएका योजनाहरुको संयुक्त अनुगमन गरिएको छ । नगरपालिका क्षेत्रभित्र सञ्चालन भएका योजनाहरुको जिल्ला समन्वय समितिको टोली र दशरथचन्द नगरपालिकाको टोली संयुक्त अनुगमन गरेको दशरथचन्द नगरपालिकाका इन्जिनियर जयसिंह बोहराले जानकारी दिए । उनले भने ‘नगरपालिकाभित्र सञ्चालित केही प्रतिनिधि योजनाहरुको हामीले अनुगमन गर्यौं । प्राविधिकहरु मात्रै नभएर सबैले संयुक्त रुपमा अनुगमन गर्दा योजनाहरु अझ प्रभावकारी हुन्छन् ।’

नगरपालिकाले वडा नं ३, ९ र ११ मा सञ्चालित विभिन्न योजनाहरुको शनिबार अनुगमन गरेको हो । संघीय समपुरक अन्तर्गत निर्माण गरेको हल्लेक कुँडीभीटा सडक, जोशीबुंगा मावि लमौता भवन, दशरथचन्द नगरपालिका वडा नं ९ मा निर्माण भएको पीसीसी बाटो, दशरथचन्द नगरपालिका ११ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन भएका पीसीसी बाटोको संयुक्त अनुगमन गरिएको हो । 

Atrya hospital

अनुगमनका क्रममा नगरपालिकाभित्र सञ्चालन भएका योजनाहरु सन्तोषजनक पाइएका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । उनले भने ‘अन्य ठाउँको तुलनामा दशरथचन्द नगरपालिकाभित्रका योजनाहरु राम्रोसंग सम्पन्न गरेका पाइएका छन् । योजनाहरुलाई अझै प्रभावकारी बनाउन अनुगमन समय समयमा हुनु आवश्यक छ ।’

यस्तै दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले नगरपालिकाभित्र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका योजनाहरुलाई पनि प्रभावकारी रुपमा सञ्चालन गरिएको बताइन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा वडाको बजेट समेत समावेश गरेर योजनालाई राम्रो बनाइएको उनले बताइन् । उनले भनिन् ‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामदारको पैसा मात्रै राखिएको छ । हामीले निर्माण सामग्रीको पैसा वडाबाट हालेर योजनाहरुलाई राम्रो बनाएका छौं । कतिपय ठाउँमा पीसीसी बाटो निर्माण गरेका छौं ।’

नगरपालिकाभित्र सञ्चालन भएका भौतिक पूर्वाधार निर्माणका कामहरु योजनाको स्टमेट अनुसार सम्पन्न भएका र ती योजनाहरुको संयुक्त टोलीले अनुगमन गरेको इन्जिनियर बोहराले बताए । उनले भने ‘जिल्लास्थित सरोकारवालाहरुको सहभागितामा हामीले योजनाहरुको अनुगमन गरेका हौं । अनुगमनका क्रममा कतिपय ठाउँमा सुझाव पनि दिएका छौं । यसले काम गर्नेहरुलाई पनि सजिलो भएको छ ।’

अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, दशरथचन्द नगरपालिकामा उपप्रमुख मीना चन्द, नगरपालिकाका प्रवक्ता चक्रप्रसाद शर्मा, जिल्ला समन्वय समितिका सदस्य रमेश बोहरा र लालबहादुर चन्द, जिल्ला समन्वय समितिका समन्वय अधिकारी हरिदत्त भट्ट लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  ०७:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update