बैतडी- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक साँझ भदौ ४ गते हुने भएको छ । सांस्कृतिक समाज नेपालको आयोजनामा प्रज्ञाप्रतिष्ठान कमलादी काठमाण्डौमा स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक साँझ हुने भएको हो ।
नेपालीहरुको गौरवपूर्ण शान कला र संस्कृति हाम्रो पहिचान भन्ने नाराका साथ भदौ ४ गते दिउँसो ३ बजे स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक साँझको आयोजना गरिएको सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रशाद अवस्थीले जानकारी दिए । सो कार्यक्रममा सुदूरपश्चिमको कला संस्कृति झल्कने खालका प्रस्तुति रहने उनले बताए ।
कार्यक्रममा पुतला नाच, छलिया, हुड्केवली पञ्चेबाजाका साथ सूदूरपश्चिमका कलाकारहरुको बेजोड प्रस्तुति रहने अध्यक्ष अवस्थीले बताए । मौलिक संस्कृति संरक्षण गर्ने अभियान सुदूरपश्चिमबाट शुभारम्भ गरिन लागिएको उनले बताए ।
देशैभरका मौलिक संस्कृति जगेर्नार्थ सातवटै प्रदेशमा मौलिक संगीत साँझ आयोजना गरिने र त्यसको सुरुवात सुदूरपश्चिम डेउडा साँझबाट गरिन लागिएको उनले बताए । बैतडी सिगास काँडाशैनीमा जन्मिनुभएका राष्ट्रिय कलाकार समेत रहेका सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थी पछिल्लो समय सुदूरको संस्कृतिमा संरक्षणमा लागि परेका छन् ।