Sagun Khabar
पाटन–पञ्चेश्वर सडकका लेन्थवर्करले शुरु गरे रिले अनसन 

बैतडी –बैतडीको पाटन –पञ्चेश्वर सडकमा कार्यरत लेन्थवर्करहरुले शुक्रबारदेखि रिले अनसन शुरु गरेका छन् । गएको २१ महिनादेखि आफूहरुले पारिश्रमिक नपाएको र पारिश्रमिकका लागि सरकारलाई दबाब दिन रिले अनशन शुरु गरिएको लेन्थवर्कर जयराम भुलले बताए । उनले भने ‘हामी सडकमा काम गर्ने मजदुरको पीडा सरकारले देखेन । सरकारले हाम्रो पीडा बोध गरोस भनेर हामीले अनसन शुरु गरेका हौं ।’

पाटन –पञ्चेश्वर सडकको जिरो प्वाइन्ट पाटनमा रिले अनशन शुरु गरेको लेन्थवर्कर लक्ष्मी पन्तले बताइन् । उनले भनिन् ‘हामीलाई संघीयता आएपछि घर न घाटको बनाइयो । लामो समयदेखि सडकमा काम गर्दै आईरहेका हाम्रो पीडा चिल्ला कारमा घुम्ने नेताहरुलाई महसुस भएन् । अब हामी सडकमा उत्रिसकेका छौं । जे गर्न पनि तयार छौं ।’

Atrya hospital

संघीय सरकार मातहत रहेको पाटन–पञ्चेश्वर सडक अहिले प्रदेश सरकार मातहत रहेको छ । सडक डिभिजन कार्यालयले पूर्वाधार विकास कार्यालयलाई सो सडक हस्तान्तरण गर्ने बेला सडकमा काम गर्ने लेन्थवर्करको पनि लिस्ट हस्तान्तरण गरेको थियो । प्रदेश सरकार मातहत आएपछि लेन्थवर्करहरुले तिन महिनाको तलब पनि बुझेका थिए । २०७६ साल असोजबाट आफूहरुले पारश्रमिक नपाएको लेन्थवर्कर हरजित महराले बताए । उनले भने ‘हामीले बर्षौंदेखि काम गर्दै आएको ठाउँमा हामीलाई अलपत्र पार्ने काम सरकारले गरेको छ । हाम्रो व्यवस्थापन नहुँदा सम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

प्रदेश सरकारका तत्कालिन भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले लेन्थवर्करहरुलाई काम गर्न मौखिम रुपमा निर्देशन दिएका  थिए । उनीहरुको व्यवस्थापन गर्ने आश्वासन समेत दिएका थिए । तर अहिले सम्म लेन्थवर्करहरुको कुनै व्यवस्थापन गरिएको छैन् । 

संघीयता आएपछि आफूहरुको रोजीरोटी खोेस्ने  प्रयास भएको लेन्थवर्करहरुले आरोप लगाएका छन् । सडक डिभिजन कार्यालय मातहत पाटन–पञ्चेश्वर सडक हुँदा आफूहरुलाई कुनै समस्या नभएको र सडक प्रदेश सरकार मातहत गएपछि आफूहरु समस्यामा परेको लेन्थवर्कर लालसिंह धामीले बताए । 

यसअघि लेन्थवर्करहरुले बिहीबार मात्रै आफूहरुको पारिश्रमिक दिलाइदिनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १३:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update