Sagun Khabar
बैतडीमा सार्वजनिक यातायातमा दोब्बर भाडा,यात्रु मार्कामा 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले निषेधाज्ञामा खुकुलो पारेसंगै असार १६ गतेदेखि जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । सार्वजनिक सवारी साधन सञ्चालनमा आएपछि केही सजिलो होला भनेर महसुस गरेका नागरिक दोब्बर भाडाको मारमा परेका छन् । आधा सीट क्षमतामा मात्रै यात्रु बोक्न पाउने प्रशासनले नियम लगाएको भन्दै यातायात व्यवसायीले दोब्बर भाडा असुल गरिरहेका हुन् । 

बैतडीमा सतबाँझदेखि सदरमुकाम गोठलापानी सम्मको एकजनाबाट दुई सय भाडा असुल भईरहेको यात्रुहरुको गुनासो छ । 

Atrya hospital

यस्तै जिल्लाका कच्ची सडकहरुमा भाडा झन् मनलाग्दी हिसाबले असुल गरिरहेका छन् । सुर्नयादेखि सतबाँझ सम्म पहिला तीन सय भाडा लिँदै आएकोमा अहिले एकजनाबाट ५ सयका हिसाबले यातायात व्यवसायीले भाडा असुल गरिरहेका स्थानीय प्रकाश बिष्टले बताए । उनले भने ‘पाँच सय भाडा दिए मात्रै जान्छौं । नत्र जाँदैनौं भन्छन् । के गर्नु जबरजस्ती बढी भाडा तिर्नुपर्ने बाध्यता रही आएको छ ।’

यातायात व्यवसायीले दोब्बर भाडा असुल गर्दा स्थानीय नागरिक मार्कामा परेका छन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई जिपहरुमा आवतजावत गर्नु मुस्किल भएको स्थानीय हरिश चन्दले बताए । उनले भने ‘सुर्नयाको रौलेश्वरबाट सतबाँझको पाँच सय भाडा भनेपछि  पैदल यात्रा गरेर सतबाँझ आयौं । यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गरिरहेका भएपनि कसैले चासो दिएको छैन् ।’

यातायात व्यवसायीले पहिला नै यति दिए मात्रै जान्छौं नत्र जाँदैनौ भन्ने गरेका कारण यात्रुहरु समस्यामा परेका छन् । 

यातायात व्यवसायीले बढी भाडा लिनु नियम विपरीत रहेको महाकाली यातायात बहुउद्देश्यीय प्रालिका सतबाँझ इन्चार्ज कर्णबहादुर पाण्डे (काजी)ले बताए । तर आधा सीट क्षमतामा साविककै भाडामा यात्रु बोक्न पनि असहज भईरहेको उनले बताए । उनले भने ‘हामी यो बिषयमा छलफल गरिरहेका छौं । बढी भाडा असुल भईरहेको सम्बन्धमा हामी पनि बुझ्छौं ।’

बैतडीमा नियमन गर्ने निकायले चासो नदिँदा यातायात व्यवसायीले बढी भाडा असुल गर्दै आएका छन् । दोब्बर भाडा असुल हुँदा समेत प्रशासन मुकदर्शक बनेको यात्रुहरुको आरोप छ । 

यो बिषयमा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बढी भाडा लिएको पाइएमा कारवाही हुने बताए । उनले भने ‘बढी भाडा असुल गरेको पाइएमा हामी कारवाही गर्छौ ।’
 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  ०९:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update