Sagun Khabar
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै 

बैतडी –पछिल्लो समयमा बैतडीमा पनि नसर्ने रोगको जोखिम बढ्दै गएको छ । अस्वस्थकर खानपीन, शारीरिक व्यायमको अभाव, बढ्दो शहरी जीवनशैली लगायतका कारणले नसर्ने रोगको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । अस्वस्थकर खानपीन लगायतका कारणले नसर्ने रोगको जोखिम बढ्दै गएको उनले बताए । उनले भने ‘अहिले नसर्ने रोग जनस्वास्थ्यको विकराल समस्याको रुपमा अगाडि आएको छ । अस्वस्थकर खानपीन लगायतका कारणले यसको भार थपिँदै गएको छ ।’

स्वास्थ्य कार्यालयले जिल्ला विभिन्न स्थानमा सञ्चालन गरेका शिविरमा पनि नसर्ने रोगका बिरामीहरु देखिएका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक तीर्थराज भट्टले बताए । नसर्ने रोगका बारेमा अझै पनि समुदायमा जनचेतनाको अभाव रहेको उनले बताए । उनले भने ‘नसर्ने रोगका बिषयमा अझै पनि चेतनाको कमी रहेको छ । नसर्ने रोगका बिषयमा चासो नदिँदा यी रोगहरु बल्झिँदै गएका छन् ।’

Atrya hospital

शिविरमा आएका मध्ये धेरै जसोमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको भट्टले जानकारी दिए । उनले भने ‘नागरिकलाई उच्च रक्तचाप, मधुमेह जस्ता रोगका बिषयमा जानकारी नरहेको पाइएको छ । यस्ता रोगहरुको बारेमा बेलैमा जाँच गराउनु आवश्यक छ ।’

पछिल्लो समयमा नसर्ने रोग पेचिलो समस्या बन्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । नसर्ने रोगका बारेमा जानकारी नहुँदा नागरिकको उपचार पहुँच पुगेको छैन भने यसले विभिन्न खालका समस्याहरु समेत निम्त्याउने गरेको स्वास्थ्यकर्मीहरुको भनाई छ । 

नसर्ने रोग जनस्वास्थ्यको विकराल समस्या बन्दै गएकाले अब नसर्ने रोग सम्बन्धि कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको स्वास्थ्य प्रमुख भट्टले बताए ।

बैतडीको सिद्धेश्वर, मेलौली र श्रीकोटमा नसर्ने रोग समबन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिसकिएको छ भने अन्य तीन ठाउँमा पनि शिविर सञ्चालन हुने जनस्वास्थ्य निरीक्षक भट्टले जानकारी दिए ।  
 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  ०८:३०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update