बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ को कार्यालय रिगाबाट मूलखटाली सारेसंगै उत्पन्न भएको विवाद सुर्नया गाउँपालिकामा पुगेको छ । बिना सूचना वडा कार्यालय अपायक ठाउँमा सारेको भन्दै निवर्तमान वडा अध्यक्ष जयबहादुर कुँवरको नेतृत्वमा बनेको संघर्ष समितिले पालिकासंग छलफल गरेको छ ।
सुर्नया गाउँपालिका वडा नं ६ को कार्यालय रीगाबाट अनलाइन सेवा प्रवाह गर्न समस्या भएको भन्दै मूलखटालीमा सारेसंगै वडा नं ६ को खालीडाँडामा कार्यालय सार्नुपर्ने आवाज उठीरहेको छ । वडाको पायक पर्ने ठाउँमा खालीडाँडा भएकाले वडा कार्यालय त्यतै राख्नुपर्ने संघर्ष समितिको माग रहेको छ ।
यता वडा अध्यक्ष मदनराज अवस्थीले भने अहिलेका लागि अस्थायी रुपमा सामुदायिक भवनमा वडा कार्यालय सारिएको र जमीन प्राप्तिको प्रक्रिया भइरहेकाले सबैको पायक पर्ने ठाउँमा वडा कार्यालय बनाइने बताए ।
सुर्नया गाउँपालिका वडा नं ६ को कार्यालयको विवादका बिषयमा दुवै पक्षसंग बसेर छलफलबाट विवाद हल गरिने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । संघर्ष समितिले दिएको ज्ञापन पत्र बुझ्दै उनले वडा कार्यालयका बिषयमा देखिएको विवाद सम्वादबाटै समाधान गरिने आश्वासन दिएका छन् ।
वडा कार्यालयको भवन निर्माणका लागि जमीन प्राप्तिको प्रक्रिया भइरहेको र त्यसलाई छिटो टुंगोमा पुर्याएर वडाको केन्द्रका बिषयमा देखिएको विवाद समाधान गरिने उनले बताए ।
यता संघर्ष समितिले वडा कार्यालय सबैको पायक पर्ने ठाउँमा राख्नुपर्ने माग गर्दै आएको छ । आफूहरुको माग पूरा नभए संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिइएको छ ।




