Sagun Khabar
बैतडीमा शहीद दशरथचन्दको ११९ औं जन्मजयन्ती मनाइयो 

बैतडी –शहीद दशरथ चन्दको ११९ औं जन्मजयन्ती उनको जन्मभूमी बैतडीमा मनाइएको छ । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा शहीद चन्दको ११९ औं जन्मजयन्ती मनाइएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए । 

कोरोना भाईरसको महामारीका कारण अन्य कार्यक्रम गर्न नसकिएपनि शहीद दशरथचन्दको शालिकमा माल्यार्पण गरिएको उनले बताए । शहीद दशरथचन्दको जन्मघर बस्कोट र गढीमा रहेको शहीद चन्दको शालिकामा माल्पार्पण गरिएको हो । 

शहीद दशरथचन्दको जन्मजयन्तीको अवसरमा आयोजना गरिएको माल्यार्पण कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्द, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे लगायतको सहभागिता रहेको थियो । 

Atrya hospital

तत्कालिन जहाँनीया राणा शासनको अन्त्यका लागि आफ्नो जीवन बलिदान गर्ने मध्येका चार जना शहीद मध्ये दशरथ चन्द पनि एक हुन् । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भईसकेको भएपनि शहीदका सपना भने पूरा हुन सकेका छैन् । 

शहीद दशरथ चन्दको जन्म वि. सं. १९६० असार १७ गते बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भएको थियो । 

उनका पितालाई सुर्खेतमा टुँडिखेल बनाउने लेफ्टिनेन्ट शेरबहादुर चन्दका नामले चिनिन्छ । राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व शहीद चन्दले मानविकी तथा समाजशास्त्र विषयमा वनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए ।

त्यसअघि उनले नेपालगञ्ज , भारतको अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा पढेका थिए । त्यही बेला उनले काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थाले । महात्मा गान्धीले भारतमा प्रारम्भ गरेको सत्याग्रहमा उनी सक्रिय रूपमा सहभागी भएका थिए । 

वि. सं. १९९० मा बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथ चन्दको पहिलो पटक भेट भएको थियो । वि. सं. १९९१ मा उनी सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुगेका थिए । त्यसपछि थाइल्याण्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाएका थिए । उनी त्यस बेला नेपाल प्रजा परिषद्को कार्यकर्ता थिए ।

दशरथ चन्द र गंगालाल श्रेष्ठ एउटै जेलमा परेका थिए । तत्कालीन राणा सरकारले वि.सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १२:५९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update