बैतडी– बैतडी घर भएका लोक देउडा गायक जेआर भट्टले ‘मेरी इजु’ को नयाँ भर्सन सार्वजनिक गरेका छन् । केही महिना अघि सार्वजनिक गरिएको ‘मेरी इजु’ लाई दर्शकले रुचाइदिएपछि उनले नयाँ भर्सन ल्याएका हुन् ।
पराई घर पुगेकी छोरीलाई पतिले दिएको यातना र पीडाका कथालाई गीतको भिडियोमा समेटिएको छ । जेआरकै शब्द र स्वर रहेको गीतमा गायिका भावना भट्टले पनि आवाज दिएकी छन् । नयाँ भर्सनमा भूमिराज थापाको एरेन्ज, शेरबहादुर बोहराको मिक्सिङ, पुष्प भट्टको छायांकन, विष्णु खड्काको सम्पादन समावेश छ ।
जेआरकै निर्देशनमा बनेको गीतमा उनीसहित हरिस चन्द, ज्योति पाण्डे, गायत्री भट्ट, नरेश जोशी, दीपक भट्ट, दीपक जोशीलगायतको अभिनय छ ।
जेआरको ‘मेरी इजु’को नयाँ भर्सन अहिले सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ । गीतको टुक्का राखेर धेरैले टिकटक बनाएका छन् । माइतीघरबाट पराई घर गएपछि महिलाले भोग्नुपरेका समस्याहरुलाई गीतमार्फत दर्शाइएको गायक भट्टले बताए । उनले भने ‘सामाजिक परिवेश अनुसारको गीत ल्याएको छु । आमाको काख प्यारो हुन्छ । काख छुटेपछिको बेदना गीतमा समेटेको छु ।’
गायक जेआरले यसअघि ल्याएको ‘मेरी इजु’को पहिलो भर्सन पनि धेरैले रुचाएका थिए । गायक भट्ट र गायिक गौरी भट्टको आवाजमा रहेको उक्त गीत धेरै रुचाएका गीत मध्ये पर्दछ ।