Sagun Khabar
‘ग’ र ‘घ’ वर्गका अपांगता भएका व्यक्तिलाई भत्ता वितरण गर्दै सुर्नया 

बैतडी – बैतडीको सुर्नया गाउँपालिकाले पालिकाभित्र रहेका ग र घ वर्गका अपांगता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । ग र घ वर्गका अपांगता भएका व्यक्तिहरुलाई संघीय सरकारबाट भत्ता नपाइने भएपछि पालिकाले निर्णय गरेर भत्ता वितरण कार्य शुरु गरेको गाउँपालिका उपाध्यक्ष लिला बिष्टले बताइन् । 

गाउँपालिकामा रहेको अपांग परिचय वितरण समितिले परिचय पत्र प्रदान गरेका गाउँपालिकाका ८ ओटै वडाका अपांगता भएका व्यक्तिहरुलाई भत्ता वितरण गर्न थालेको उनले बताइन् । उनले भनिन् ‘हामीले कार्यपालिकाबाट निर्णय गरेर अपांगता भएका व्यक्तिहरुलाई भत्ता वितरण गर्न थालेका हौं । सबै वडाको पायक पर्ने स्थानमा पुगेर भत्ता वितरण गरिरहेका छौं ।’

Atrya hospital

गाउँपालिकाभरी ग र घ वर्गका परिचय पत्र पाएका २०४ जना नागरिक रहेका छन् । ग वर्गका अपांगता भएका व्यक्तिलाई प्रति व्यक्ति ३ हजार ५ सय र घ वर्गका अपांगता भएका व्यक्तिहरुलाई प्रतिव्यक्ति ३ हजार दरले एकमुष्ट भत्ता वितरण भईरहेको उपाध्यक्ष बिष्टले बताइन् । 

मंगलबार वडा नं ६, ७ र ८ का अपांगता भएका व्यक्तिहरुलाई भत्ता वितरण गरिएको बताइएको छ । अब अन्य वडामा भएका व्यक्तिहरुलाई भत्ता वितरण गरिने जनाइएको छ । भत्ता वितरणका क्रममा छुटेका व्यक्तिहरुलाई वडा अध्यक्ष मार्फत भत्ता वितरण गरिने उनले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update