Sagun Khabar
सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री सिंहको शनिवार अन्त्येष्टी गरिने

बझाङ –मंगलबार अपरान्ह दुर्घटना परि मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको शनिबार मात्रै अत्येष्टी गरिने भएको छ । धनगढीमा अन्तिम श्रद्धाञ्जली सभाको आयोजना गरेर मन्त्री सिंहको पार्थिव शरीरलाई बझाङ पुर्याइएको छ ।  

मन्त्री सिंहका कान्छा छोरा इजरायलबाट आउन समय लाग्ने भएकाले पार्थिव शरिर चार दिन जिल्ला अस्पतालमा राखिने नेपाली कांग्रेस बझाङका नेता पाण्डव थापाले जानकारी दिए । मन्त्री सिंहका छोरा पुगेपछि शनिबार बझाङमा अन्तिम श्रद्धाञ्जली कार्यक्रमपछि दाहसंस्कार गरिने नेता थापाले बताए । सिंहकी धर्मपत्नी अमृतादेवी सिंहको शव भने मंगलबारदेखि नै जिल्ला अस्पतालमा राखिएको छ ।

दुर्घटनामै परेर मृत्यु भएकी मन्त्री सिंहकी भाउजु जयादेवी सिंहको शव भने महेन्द्रनगर लगिसकिएको नेपाली कांग्रेस बझाङले जनाएको छ । 

डडेल्धुराबाट गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सिंह चढेको मोटर दुर्घटनामा परेको थियो । सुपप्र ०१ ००१ झ ४८० नम्बरको जिप हिजो दिउँसो साढे १ बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update