Sagun Khabar
बैतडीको चडेपानीमा खानेपानीको हाहाकार 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानी गाउँमा अझै पनि खानेपानी नियमित सुचारु भएको छैन् । असार १० गते खानेपानीको मूहानमाथिबाट खसेको पहिरोले खानेपानीको मेनलाइनमा क्षति पुर्याएपछि खानेपानी अवरुद्ध भएको चडेपानी खानेपानीका आयोजनाका अध्यक्ष लक्ष्मीदत्त भट्टले बताए । 

आइतबार साँझ एक पटक खानेपानी सञ्चालन भएपनि फेरी अवरुद्ध भएको उनले बताए ।  पहिरोले खानेपानीका पाइपहरुमा क्षति पुर्याएपछि गाउँमा खानेपानीको हाहाकार भएको छ । गाउँमा खानेपानीका मूहान नहुँदा गाउँलेहरु टाढाबाट बोकेर खानेपानीको जोहो गरिरहेका छन् । 

Atrya hospital

खानेपानीको जीआइ पाइपमा पहिरोले क्षति पुर्याएको र पाइपका लागि सरोकारवाला निकायहरुसंग छलफल भईरहेको अध्यक्ष भट्टले जानकारी दिए । उनले भने ‘पहिरोले पाइपमा क्षति भएको छ । पाइपको व्यवस्थापनमा लागिरहेका छौं ।’
२० किलोमिटर टाढाको मूहानबाट गाउँमा खानेपानी पुगेको र खानेपानी अवरुद्ध हुँदा स्थानीयहरुलाई निकै समस्या भएको उनले बताए  । असार १० गतेदेखि नै खानेपानी सञ्चालनका लागि आफूहरुले पहल गरिरहेको भएपनि खानेपानी सञ्चालनमा समस्या भएको उनले बताए । खानेपानी अवरुद्ध भएसंगै गाउँका दुई सय परिवारलाई खानेपानीको निकै समस्या भएको बताइएको छ । 

गाउँमा बेलाबेला खानेपानी अवरुद्ध हुँदा आफूहरुले ४ घण्टा टाढा गएर पानीको जोहो गर्नुपरीरहेको स्थानीय लिलाधर भट्टले बताए । उनले भने ‘बर्षौं पुरानो योजना भएकाले गाउँमा आउने खानेपानी बेलाबेला अवरुद्ध हुन्छ । नजिक पानीका मूहान छैन् । त्यसैले हामीले धेरै टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता रही आएको छ ।’

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update